काठमाडौं, कात्तिक २०। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज शुक्रबार दुई खेल हुँदैछन्।
पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुँदा दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दोस्रो खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ।
पहिलो खेलमा कर्णाली याक्स तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ। तीन खेल खेलेको कर्णालीले दुईमा जित र एकमा हार बेहोरेको छ। लगातार दुई खेल जितेर लयमा देखिएको कर्णाली पछिल्लो खेलमा काठमाडौं गोर्खाजसँग पराजित भएको थियो।
यता सुदूरपश्चिम रोयल्स पनि जितको खोजीमा हुनेछ।
चार खेल खेलेको सुदूरपश्चिमले दुईमा जित र दुईमा हार बेहोरेको छ। आज कर्णालीलाई पराजित गर्दै लगातार दोस्रो जित निकाल्ने र अंक तालिकामा आफ्नो स्थिति सुधार गर्ने उसको लक्ष्य छ।
जितविहीन पोखरा पहिलो जितको खोजीमा
आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्नेछ। तीन खेल खेलेको पोखरा अहिलेसम्म जितविहीन छ। कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा आज चितवनलाई हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने योजनामा छ।
यता चितवन राइनोज भने पोखराविरुद्ध जित निकाल्दै प्लेअफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। चार खेल खेलेको चितवनले दुईमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अंक बाँडेको छ।
जारी प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। आजका दुवै खेलले अंक तालिकाको समीकरण र टोलीहरूको प्लेअफ यात्रामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

