काठमाडौं, साउन ३ — जोर्डनमा इरानद्वारा गरिएको ड्रोन तथा मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले इरानविरुद्ध नयाँ चरणको सैन्य आक्रमण सुरु गरेको छ।
अमेरिकी सेनाका अनुसार लगातार आठौँ रात इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरिएको हो। यो कारबाही जोर्डनमा दुई अमेरिकी सैनिक मारिने गरी भएको आक्रमणको प्रतिशोधस्वरूप गरिएको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैनिकहरूको मृत्यु दुःखद भएको बताउँदै इरानलाई कुनै पनि अवस्थामा आणविक हतियार विकास गर्न नदिने चेतावनी दिएका छन्। उनले आफ्नै स्वीकृतिमा प्रतिकारात्मक सैन्य कारबाही अघि बढाइएको बताएका छन्।
अमेरिकी सेनाले युद्ध सुरु भएयता पहिलोपटक इरानी आक्रमणमा आफ्ना सैनिकको मृत्यु भएको औपचारिक पुष्टि गरेको हो। शुक्रबार भएको आक्रमणमा दुई सैनिक मारिएका थिए भने एक सैनिक अझै बेपत्ता छन्। थप चार सैनिक घाइते भई उपचाररत छन्।
अमेरिकी सेनाका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको युद्धयता हालसम्म १६ अमेरिकी सैनिकको मृत्यु भइसकेको छ भने ४३० भन्दा बढी सैनिक घाइते भएका छन्।
यता, इरानका सर्वोच्च नेता मुज्तबा खामेनीईले ट्रम्पको अभिव्यक्तिलाई अस्वीकार गर्दै अमेरिका नै अन्तर्राष्ट्रिय सम्झौता उल्लंघन गर्ने पक्ष भएको आरोप लगाएका छन्।
यसैबीच, कुवेतले इरानी हवाई आक्रमणका कारण आफ्नो सरकारी तेल कम्पनीअन्तर्गतको एक इकाइमा क्षति पुगेको जनाएको छ। इराकको अर्बिलस्थित अमेरिकी वाणिज्य दूतावासलाई पनि ड्रोनमार्फत निशाना बनाउने प्रयास भएपछि त्यहाँको हवाई सुरक्षा प्रणाली तत्काल सक्रिय पारिएको थियो।
अमेरिकी सेन्ट्रल कमान्डका अनुसार नयाँ हवाई आक्रमणको मुख्य उद्देश्य इरानका सैन्य अड्डा, हतियार भण्डारण स्थल तथा होर्मुज जलमार्गमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमनमा अवरोध पुर्याउने इरानको क्षमतालाई कमजोर बनाउनु हो।
यद्यपि केही दिनअघि राष्ट्रपति ट्रम्पले इरानका पुल र विद्युत् पूर्वाधार ध्वस्त पार्ने चेतावनी दिएका थिए। अमेरिकी सेनाले भने हालसम्म सैन्य अड्डा र हतियार भण्डारण स्थललाई मात्र निशाना बनाइएको तथा नागरिक पूर्वाधारमा आक्रमण नगरिएको जनाएको छ।
अमेरिका र इरानबीचको तनाव दिनप्रतिदिन बढ्दै गएको छ। अमेरिकी सेनाले पछिल्ला आठ दिनदेखि इरानका विभिन्न सैन्य संरचनामाथि निरन्तर हवाई आक्रमण जारी राखेको जनाएको छ।
जोर्डनमा दुई अमेरिकी सैनिकको मृत्युपछि इरानविरुद्ध अमेरिकाको नयाँ हवाई आक्रमण
Leave a Comment
Leave a Comment

