युक्रेनको ओडेसा बन्दरगाह नजिक व्यावसायिक जहाजमा आक्रमण, चार भारतीय नागरिकको मृत्यु

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन ५ — युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरिरहेको एक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएको छ। भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार ‘एमभी गोल्डेन लियो’ नामक जहाज जुलाई १९ मा ओडेसाबाट यात्रा सुरु गर्ने क्रममा आक्रमणको शिकार भएको थियो। घटनामा अर्का एक भारतीय नागरिक गम्भीर घाइते भएका छन्।
आक्रमण भएको बेला जहाजमा कुल १७ जना चालक दलका सदस्य थिए, जसमध्ये पाँच जना भारतीय नागरिक रहेको विदेश मन्त्रालयले जनाएको छ। यद्यपि आक्रमण कसले गरेको हो भन्नेबारे मन्त्रालयले कुनै जानकारी दिएको छैन।
भारत सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै व्यावसायिक जहाजलाई लक्षित गरी गरिएको आक्रमण र निर्दोष चालक दलका सदस्यहरूको ज्यान जोखिममा पारिएको घटनाको कडा शब्दमा निन्दा गरेको छ।
साथै, युक्रेनस्थित भारतीय दूतावासले घटनालाई नजिकबाट निगरानी गरिरहेको र प्रभावित नागरिक तथा उनीहरूका परिवारलाई आवश्यक सबै प्रकारको कूटनीतिक तथा मानवीय सहयोग उपलब्ध गराइरहेको विदेश मन्त्रालयले जनाएको छ।

Leave a Comment