काठमाडौं, भदौ २६ । कंगोको विद्रोहीको नियन्त्रणमा रहेको बुकावु सहरमा दुई विद्यालयमा भीषण आगलागी हुँदा कम्तीमा २९ विद्यार्थीको मृत्यु भएको छ।
घटनापछि विद्यालय परिसरमा ठूलो भागदौड मच्चिँदा बालबालिकासहित केही वयस्कको समेत मृत्यु भएको बताइएको छ। घना बस्ती रहेको कदूतु क्षेत्रमा भएको घटनामा मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
आगलागीमा घाइते भएका तथा घटनाबाट जोगिएका बालबालिकालाई उपचारका लागि नजिकैका अस्पतालमा लगिएको छ। अस्पतालमा उपचाररत केही बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ।
आगलागीका कारण आसपासका करिब ३ सय घरसमेत जलेर नष्ट भएका छन्। घटनास्थलका दृश्यमा घाइते बालबालिकाहरू अस्पतालको भुइँमा उपचारका लागि राखिएको देखिएको छ।
आगलागी कसरी सुरु भयो भन्नेबारे भने अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनाको कारण र क्षतिको थप विवरण संकलन भइरहेको बताइएको छ

