सिरहा, साउन ७ — आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट घुस रकम बुझ्दै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो।
प्रारम्भिक जानकारीअनुसार सिरहा सुपर मार्केट प्रालिको आर्थिक वर्ष २०७८/७९ को पूर्ण कर परीक्षण (फुल अडिट) गर्ने क्रममा पालले अडिट प्रक्रिया सहज बनाइदिने भन्दै ५ लाख रुपैयाँ मागेका थिए। आरोपअनुसार उनले आफूभन्दा माथिका अधिकारी तथा अन्य व्यक्तिलाई समेत मिलाउनुपर्ने भन्दै उक्त रकम मागेका थिए।
स्रोतका अनुसार घुस रकम उपलब्ध गराएपछि मात्रै अडिट प्रक्रिया अघि बढाउने सर्त राख्दै कम्पनीसँग आवश्यक कागजात मागिएको थियो। अडिटका क्रममा कम्पनीमाथि कर, जरिवाना तथा अन्य शीर्षकमा करिब २ करोड रुपैयाँ दायित्व देखिएको थियो। थप कागजातको परीक्षणपछि उक्त दायित्व अझ ३० देखि ३५ लाख रुपैयाँसम्म बढ्न सक्ने अनुमान गरिएको थियो।
घुस मागिएको सूचनापछि अख्तियारको टोलीले निगरानी बढाएको थियो। सोही क्रममा कर अधिकृत पाललाई ५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको हो।
अख्तियारले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता रहेको वा नरहेको विषय पनि खुल्ने अपेक्षा गरिएको छ।
लहानका कर अधिकृत पाल ५ लाख घुससहित रंगेहात पक्राउ
Leave a Comment
Leave a Comment

