काठमाडौँ, कात्तिक १९। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्। आफूमाथि अन्याय भएको दाबी गर्दै उनले सरकारको निर्णयलाई चुनौती दिएका हुन्।
कार्कीका तर्फबाट उनका कानुन व्यवसायीहरू बिहीबार रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्। अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार रिट निवेदन हाल दर्ता प्रक्रियामा रहेको छ।
अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि निवेदन दर्ता हुने वा नहुने विषयमा टुंगो लाग्नेछ।
सरकारले बुधबार कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्की न्यायिक उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन्।

