जनकपुर बोल्ट्सले टस जित्दै लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १९ कात्तिक। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर साविक विजेता लुम्बिनी लायन्सलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको छ।

जारी प्रतियोगितामा उत्कृष्ट लयमा रहेको लुम्बिनी र पुनरागमन गर्दै बलियो प्रदर्शन गरिरहेको जनकपुरबीचको प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको छ।

लुम्बिनी जारी संस्करणमा हालसम्म अपराजित रहने एकमात्र टोली हो। तीन खेल खेलेको उसले दुई खेलमा जित र एक खेल वर्षाका कारण रद्द भएपछि अंक बाँड्दै कुल पाँच अंक जोडेको छ। लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। आजको खेलमा जित निकाल्न सके उसको प्लेअफ यात्रा थप सहज बन्नेछ।

पहिलो संस्करणको उपाधि जितेको जनकपुरले दोस्रो संस्करणको कमजोर प्रदर्शनलाई बिर्साउँदै यसपटक राम्रो लय समातेको छ। चार खेल खेलेको जनकपुरले दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। टोली हाल अंकतालिकाको चौथो स्थानमा छ।
यी दुई टोलीबीच यसअघि दुई पटक प्रतिस्पर्धा भएको छ। पहिलो संस्करणमा जनकपुरले लुम्बिनीलाई एक रनले पराजित गरेको थियो भने दोस्रो संस्करणमा लुम्बिनीले चार विकेटको जित निकाल्दै बदला लिएको थियो।
यसैबीच, बिहीबार नै साँझ ५ बजे विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीच अर्को खेल हुनेछ।

Leave a Comment