युरोपमा बमको झुटो धम्कीले हवाई यातायात प्रभावित, सुरक्षामा लडाकु विमान परिचालन

पढ्न लाग्ने समय : 4 मिनेट

काठमाडौं। युरोपका विभिन्न देशमा एकै दिन एक दर्जनभन्दा बढी विमानमा बम राखिएको धम्की आएपछि हवाई यातायात प्रभावित भएको छ। बिहीबार प्राप्त धम्कीका कारण कैयौँ विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आकस्मिक अवतरण गराइएको छ।

यात्रुको सुरक्षाका लागि केही विमानलाई सैन्य लडाकु विमानले सुरक्षा प्रदान गरेका छन्।

यद्यपि, धम्कीपछि विभिन्न विमानस्थलमा गरिएको सुरक्षा जाँचका क्रममा कुनै पनि विमानमा विस्फोटक पदार्थ वा शङ्कास्पद वस्तु फेला परेको छैन। बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले यी घटनालाई दुर्भावनापूर्ण झुटा धम्कीको संज्ञा दिएकी छन्।

यसै साता पनि युरोपका विभिन्न विमानलाई लक्षित गरी यस्तै धम्की आएपछि उडानको मार्ग परिवर्तन र सुरक्षा जाँच गरिएको थियो। एकै दिन यति धेरै विमानलाई लक्षित गरी धम्की आउनुलाई असामान्य घटनाका रूपमा हेरिएको छ।

ब्रसेल्सस्थित ब्रुगेल थिङ्क ट्याङ्कका वरिष्ठ अनुसन्धानकर्ता ज्याकोब फङ्क किर्केगार्डका अनुसार यस्ता धम्की युरोपेली सरकार र विमानस्थलका सुरक्षा निकायको प्रतिक्रिया परीक्षण गर्ने प्रयास हुन सक्छन्। यसले हवाई यातायातप्रतिको विश्वास कमजोर बनाउनुका साथै आर्थिक क्षति र उडान व्यवस्थापनमा समेत ठूलो असर पार्न सक्छ।

युरोपेली सङ्घका यातायात आयुक्त अपोस्टोलोस त्जित्जिकोस्तासले भने सबै घटना आपसमा सम्बन्धित छन् भन्ने निष्कर्षमा पुग्न अहिले नै हतार गर्न नहुने बताएका छन्। घटनाबारे सम्बन्धित देशका निकायले अनुसन्धान गरिरहेका छन्।
फ्रान्समा आकस्मिक अवतरण, इटालीमा लडाकु विमानबाट सुरक्षा
आयरल्यान्डको डब्लिनबाट इटालीको रोम जाँदै गरेको एर लिङ्गसको विमानमा बम राखिएको धम्की आएपछि फ्रान्सको एभ्रुस्थित सैन्य हवाई अड्डामा अवतरण गराइएको थियो। विमान सुरक्षित अवतरण गरेपछि बम निष्क्रिय पार्ने विशेषज्ञ टोलीले जाँच गरेको थियो।

फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुको कार्यालयका अनुसार विमानका पाइलटले सम्बन्धित अधिकारीसँग अपेक्षाअनुसार समन्वय नगरेपछि प्रधानमन्त्रीले सैन्य विमान परिचालन गरी उक्त विमानलाई सैन्य अड्डासम्म पुर्‍याउन निर्देशन दिएका थिए। घटनाबारे फ्रान्सेली उड्डयन सुरक्षा निकायले अनुसन्धान थालेको छ। विमानका पाइलट र सहपाइलटसँग समेत सोधपुछ भइरहेको छ।
त्यस्तै, फिनल्यान्डको हेलसिन्कीबाट रोमका लागि उडेको फिनएयरको विमानलाई इटालीको वायुसेनाका लडाकु विमानले सुरक्षा दिएका थिए। कम्पनीका अनुसार उसका दुई उडानमा बम राखिएको भन्दै झुटो धम्की आएको थियो। रोम पुगेको विमान सुरक्षित अवतरण भएको थियो भने हेलसिन्कीबाट अस्ट्रियाको भियना गएको अर्को विमान पनि सुरक्षित अवतरण भएको थियो।
बुल्गेरिया जाने रायनएयरका तीन विमानमा पनि बमको धम्की आएपछि सैन्य विमान परिचालन गरिएको थियो। कोपनहेगन र म्याड्रिडबाट आएका दुई विमान बुल्गेरियाको सोफिया विमानस्थलमा सुरक्षित अवतरण भए भने लन्डनबाट आएको अर्को विमान प्लोभ्दिभ विमानस्थलमा उतारिएको थियो।
अन्य विमानस्थलमा पनि कडा सुरक्षा जाँच
चेक गणतन्त्रको प्राग विमानस्थलमा बमको धम्की आएका चार विमानको जाँच गर्दा कुनै शङ्कास्पद वस्तु फेला परेन। पोल्यान्डको एलओटी एयरलाइन्सको वार्साबाट ब्रसेल्स गएको विमानमा पनि गन्तव्यमा अवतरणपछि गरिएको जाँचमा कुनै खतरनाक वस्तु भेटिएन।
त्यस्तै, इटालीको मिलानबाट रोमानियाको बुखारेस्ट गएको विज एयरको विमानमा धम्की आएपछि सुरक्षित अवतरण गराइएको थियो। जाँचका क्रममा बम नभेटिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।
सर्बियाको बेलग्रेडबाट बुखारेस्ट गएको एयर सर्बियाको विमानमा पनि यस्तै धम्की आएको थियो। सुरक्षा जाँचपछि विमान कम्पनीले नियमित उडान सेवा पुनः सुरु गरेको जनाएको छ।
यसअघि पनि पोल्यान्डको एलओटी, स्क्यान्डिनेभियन एयरलाइन्स, विज एयर र रायनएयरका उडानलाई लक्षित गरी यस्तै धम्की आएका थिए। ती घटनामा पनि कुनै विस्फोटक पदार्थ फेला परेको थिएन।
एउटा उडान अवरुद्ध हुँदा लाखौँ डलर क्षति
विमान सुरक्षा विज्ञहरूका अनुसार यस्ता झुटा धम्कीका कारण विमानको सुरक्षा जाँच, उडान मार्ग परिवर्तन, चालकदलको समय व्यवस्थापन र यात्रुको अर्को गन्तव्यसम्म पुग्ने कनेक्टिङ उडान छुट्ने जस्ता समस्या उत्पन्न हुन्छन्।
उड्डयन सुरक्षा विज्ञ फिलिप बाउमका अनुसार एउटा उडान अवरुद्ध हुँदा सम्बन्धित विमान कम्पनीलाई दुई लाख ५० हजार अमेरिकी डलरसम्म आर्थिक क्षति हुन सक्छ।
यस साताभरि युरोपका विभिन्न विमानलाई लक्षित गरी आएका धम्की कसले दिएको हो, ती घटनाबीच आपसी सम्बन्ध छ वा छैन र यसको वास्तविक उद्देश्य के हो भन्नेबारे अझै खुल्न सकेको छैन। सम्बन्धित निकायले घटनाको अनुसन्धान जारी राखेका छन्।

Leave a Comment