शिक्षा संवाद’ कार्यक्रममा सहभागी नगराएको भन्दै शिक्षक महासंघको आपत्ति

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ — प्रस्तावित शिक्षा ऐनका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले प्रदेशगत रूपमा आयोजना गर्न थालेको ‘शिक्षा संवाद’ कार्यक्रममा आफूलाई सहभागी नगराएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षक तथा कर्मचारीका पेसागत विषयमा नीति संवाद भइरहँदा शिक्षा ऐनले व्यवस्था गरेको आधिकारिक पेसागत संस्था नेपाल शिक्षक महासंघको संस्थागत सहभागिता नगराइनु शिक्षक–कर्मचारीका समस्या र पेसागत आन्दोलनप्रति मन्त्रालयको बेवास्ता भएको आरोप लगाएको छ।
महासंघले मन्त्रालयलाई आफ्नो निर्णय सच्याउन चेतावनीसमेत दिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा गम्भीर बनी अविलम्ब आफूलाई सच्याउन हामी मन्त्रालयको ध्यानाकर्षण गराउँछौँ। अन्यथा यसबाट सिर्जना हुने असजिलो परिस्थितिप्रति मन्त्रालय आफैँ जिम्मेवार हुने कुरा समेत प्रस्ट पार्न चाहन्छौँ।’
शिक्षा ऐन निर्माणअघि देशभरका शिक्षा सरोकारवालाको सुझाव र आवाज सुन्न शिक्षा मन्त्रालयले प्रदेशगत रूपमा स्थानीय सरोकारवालासँग ‘शिक्षा संवाद’ कार्यक्रम सुरु गरेको हो।
अभियानअन्तर्गत पहिलो दिन शनिबार कोसी प्रदेशको विराटनगरमा ‘शिक्षा संवाद’ कार्यक्रम सम्पन्न भएको थियो। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता थियो।
विराटनगरबाट सुरु गरिएको ‘शिक्षा संवाद’ अभियानको दोस्रो दिन आइतबार मधेस प्रदेशमा कार्यक्रम आयोजना गरिएको छ।

Leave a Comment