मन्त्रिपरिषद् बैठकका तीन महत्वपूर्ण निर्णय सार्वजनिक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२६ माघ २०८२, सोमबार | काठमाडौं
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका तीन महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ। बैठकपछि सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले पत्रकार सम्मेलनमार्फत ती निर्णयबारे जानकारी गराएका हुन्।

उनका अनुसार बैठकले राष्ट्रिय आर्थिक गणना, वार्षिक प्रतिवेदन पेश गर्ने प्रक्रिया तथा जेनजी आन्दोलनसँग सम्बन्धित छानबिन आयोगको समयावधि थप्ने निर्णय गरेको छ।

सरकारले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्न आवश्यक आदेश स्वीकृत गरेको छ। यसले देशको आर्थिक अवस्था, उत्पादन, रोजगारी र उपभोगसम्बन्धी यथार्थ तथ्यांक संकलन गर्न सहयोग पुग्ने सरकारको विश्वास छ।

त्यसैगरी, आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यस्तै, मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको निर्णयअनुसार गठन गरिएको जेनजी आन्दोलनको छानबिनका लागि बनेको जाँचबुझ आयोगको समयावधि २५ दिन थप गरिएको छ। आयोगले भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्नेछ।

सरकारले यी निर्णयहरू नीतिगत सुधार, पारदर्शिता र तथ्यमा आधारित निर्णय प्रक्रियालाई मजबुत बनाउने उद्देश्यका साथ गरिएको जनाएको छ।

Leave a Comment