बारा — जितपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ।
बलात्कारपछि हत्या गरिएको आरोपमा अनुसन्धान भइरहेको गरिमाको कलैया उपमहानगरपालिका–१४ बघवनस्थित पसाहा खोला घाटमा धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार अन्त्येष्टि गरिएको हो।
सरकार र पीडित परिवारबीच शनिबार राति गृह मन्त्रालयमा तीनबुँदे सहमति भएपछि गरिमाका बुवा मनोज चौधरीले आइतबार प्रादेशिक अस्पताल कलैयाबाट छोरीको शव बुझेका थिए। त्यसपछि शवलाई पसाहा खोला घाट पुर्याएर अन्त्येष्टि गरिएको हो।
अन्त्येष्टिमा परिवार तथा आफन्तसँगै बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, रिपुमर्दन गणका प्रमुख सेनानी गिरिराज गौतम, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला तथा सञ्चारकर्मीको उपस्थिति थियो।
निष्पक्ष अनुसन्धान, घटनामा संलग्न दोषीलाई कडा कारबाही र कानुनी सुधारको माग गर्दै परिवारले केही दिनदेखि गरिमाको शव बुझ्न अस्वीकार गर्दै आएको थियो।
गृह मन्त्रालयमा भएको वार्तामा गृहमन्त्रीसहित पाँच मन्त्री तथा सांसदहरूको सहभागितामा पीडित पक्षसँग सहमति भएको थियो। सहमतिअनुसार घटनासँग सम्बन्धित कानुनी व्यवस्थाको पुनरावलोकनका लागि ‘गरिमा न्याय संकल्प समिति’ गठन गर्ने लगायतका विषय समेटिएका छन्।
सहमति भएपछि परिवारले शव बुझेर अन्त्येष्टि गर्न तयार भएको हो।

