काठमाडौँ । अमेरिका र इरानबीचको सैन्य द्वन्द्व फेरि चर्किएको छ। अमेरिकाले इरानमा पुनः हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेपछि इरानले पनि विभिन्न स्थानमा रहेका अमेरिकी सैन्य संरचनालाई लक्षित गर्दै जवाफी हमला गरेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार मंगलबार अमेरिकी सेनाले इरानमाथि पुनः सैन्य कारबाही थालेको हो। इरानी इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले हर्मुज जलमार्गमा व्यावसायिक जहाजमाथि आक्रमणको प्रयास गरेपछि कारबाही गरिएको सेन्टकमको दाबी छ।
अमेरिकी आक्रमणका क्रममा दक्षिणी इरानको सिरिकमा क्षेप्यास्त्रका छर्रा विवाह समारोह भइरहेको एउटा घरमा खसेका थिए। इरानी रेड क्रेसेन्टका अनुसार घटनामा बच्चासहित चार जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्।
घटनापछि इरानले पनि अमेरिकी सैन्य अखडालाई निशाना बनाउँदै जवाफी आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार इरानले इराक र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डासँगै कुवेत र बहराइनतर्फ समेत आक्रमण गरेको छ।
आईआरजीसीले अमेरिकी आक्रमणको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।
इरानी अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार सिरिकमा भएको आक्रमणको जवाफमा बुधबार बिहान जोर्डनको अकाबास्थित अमेरिकी समुद्री सैन्य अड्डालाई लक्षित गरी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो।
जोर्डनको सशस्त्र बलले १३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र रोकिएको जनाएको छ। तीमध्ये १० वटा आकाशमै नष्ट गरिएको र बाँकी तीनवटा दुर्गम क्षेत्रमा खसेको बताइएको छ। उक्त आक्रमणबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।
यसैबीच, इरानी क्षेप्यास्त्र आक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै कुवेती सेनाले बुधबार बिहान आफ्नो हवाई रक्षा प्रणाली सक्रिय अवस्थामा राखेको जनाएको छ।
अमेरिका र इरानबीचको पछिल्लो सैन्य गतिविधिले मध्यपूर्वमा तनाव थप बढाएको छ। पछिल्ला आक्रमणसँगै क्षेत्रीय मुलुकहरूमा पनि सुरक्षा सतर्कता बढाइएको छ।

