राजविराज, भदौ २५ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर सडकपेटीमै एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पतालको सेवा प्रवाहमाथि गम्भीर प्रश्न उठेको छ।
बुधबार राति करिब साढे २ बजे प्रसव पीडामा रहेकी राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले अस्पतालको गेटबाहिरै बच्चा जन्माएको बताइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृश्यमा अस्पतालको मूल गेटबाहिर सडकपेटीमा बच्चा जन्मिसकेको अवस्थामा महिला देखिन्छिन्।
घटनामा आर्थिक अभावका कारण महिलाले अस्पतालभित्र आवश्यक सेवा पाउन नसकेको दाबी गरिएको छ। यद्यपि, अस्पतालले महिलालाई किन समयमै उपचार तथा प्रसूति सेवा उपलब्ध गराउन सकेन भन्ने विषय स्पष्ट हुन बाँकी छ।
घटनाप्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले स्वास्थ्य संस्था जस्तो संवेदनशील स्थानमा सेवाग्राहीले समयमा उपचार नपाई अस्पतालको गेटमै बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना हुनु अत्यन्तै गम्भीर र चिन्ताजनक विषय भएको बताएका छन्।
डा. झाले घटनाको वास्तविकता पत्ता लगाउन तत्काल छानबिन समिति गठन गर्ने र छानबिनबाट कर्मचारी वा सम्बन्धित पक्षको कमजोरी देखिए आवश्यक कानुनी तथा प्रशासनिक कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
घटना सार्वजनिक भएपछि चिकित्सक तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले समेत अस्पतालको सेवा व्यवस्थापनमाथि प्रश्न उठाएका छन्। वरिष्ठ चिकित्सक डा. सन्तोष पौडेलले सरकारी अस्पतालमा यस्तो अवस्था आउनु दुःखद् भएको प्रतिक्रिया दिएका छन्।
मनोचिकित्सक डा. अनन्त अधिकारीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै अस्पतालको सामाजिक सेवा एकाइ हुँदाहुँदै पनि समस्या कुन चरणमा उत्पन्न भयो भन्ने विषय खोजिनुपर्ने बताएका छन्।
अस्पतालको गेटबाहिरै प्रसूति गराउनुपर्ने अवस्था किन आयो, महिलालाई अस्पतालभित्र समयमै प्रवेश गराएर उपचार तथा प्रसूति सेवा किन उपलब्ध गराइएन र आर्थिक अवस्था कमजोर भएकी सेवाग्राहीका लागि उपलब्ध सामाजिक सेवा प्रभावकारी रूपमा प्रयोग भयो कि भएन भन्ने विषय अब छानबिनको मुख्य विषय बन्ने देखिएको छ।
सरकारी अस्पतालको गेटबाहिरै बच्चा जन्मिएपछि छानबिन समिति गठन गर्ने तयारी
Leave a Comment
Leave a Comment

