नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज ३ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। देशभरका वडामा आज र भोलि अधिवेशन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको छ।

वडा अधिवेशनबाट वडा कार्यसमिति चयन गर्नुका साथै महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियाका लागि क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित हुनेछन्। वडा तहबाट सुरु हुने यो प्रक्रिया क्रमशः प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनसम्म पुग्नेछ।
क्षेत्रीय प्रतिनिधिले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्नेछन्। त्यसपछि महाधिवेशन प्रतिनिधिले केन्द्रीय महाधिवेशनमार्फत कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्ने व्यवस्था छ।
स्थानीय तहको संरचनाअनुसार वडा कार्यसमितिमा निर्वाचित हुने पदाधिकारी तथा सदस्यको संख्या फरक–फरक हुने कांग्रेसले जनाएको छ। गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका वडाको संरचनाअनुसार पदाधिकारी तथा सदस्यको संख्या निर्धारण गरिएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार वडा अधिवेशनका लागि देशभरका सबै वडामा निर्वाचन अधिकृत पुगिसकेका छन्। रसुवा र नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ बाहेक अन्य स्थानमा वडा अधिवेशनको तयारी भइरहेको उनले जानकारी दिएका छन्।

यसैबीच, कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने जारी महाधिवेशन प्रक्रियामा सहभागी नहुने जनाएको छ। उक्त समूहले आगामी मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरिरहेको छ।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि नेपाली कांग्रेस दुई समूहमा विभाजित अवस्थामा रहेको छ। यही पृष्ठभूमिमा सुरु भएको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनलाई पार्टीको आगामी नेतृत्व चयन प्रक्रियाको पहिलो चरणका रूपमा हेरिएको छ।

Leave a Comment