काठमाडौं, असोज ५ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि स्थापना गरिएको सरकारी राहत कोषमा करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।
बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोग आउने क्रम जारी रहेको कार्यालयले जनाएको छ।
कोषमा जम्मा भएको रकममध्ये सरकारले यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।
कार्यालयका अनुसार कोषअन्तर्गत विभिन्न नौ वटा वाणिज्य बैंकमा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा रहेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा दुई करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर मौज्दात रहेको छ।
सरकारले कोषमा जम्मा भएको रकमलाई बाढी तथा विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि आवश्यकताअनुसार परिचालन गर्ने जनाएको छ।

