एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। पहिलो खेलमै अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको हो।
अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा सन्दीप जोराले ३४ तथा रोहित पौडेलले ३३ रनको महत्वपूर्ण योगदान दिए।
लक्ष्य पछ्याउने क्रममा नेपालका कुशल भुर्तेल खाता नखोल्दै आउट भए। आसिफ शेखले २ रन बनाएर विकेट गुमाए। त्यसपछि ब्याटिङमा आएका सन्दीप जोराले ३५ बलमा ३४ रन बनाए। उनी रनआउट भए।
कुशल मल्लले ९ रन जोडेपछि रनआउट भए। कप्तान रोहित पौडेलले ३२ बलमा ३३ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १८ बलमा १५ रन बनाए भने गुल्सन झाले एक बलमा एक रन जोड्दै नेपाललाई जित दिलाए। अफगानिस्तानले नेपाललाई ९ अतिरिक्त रन दिएको थियो।
अफगानिस्तानका फारिदुन दावुदजाइ, अब्दुल्लाह अहमदजाइ र अरब गुलले नेपालका एक–एक विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित खेलमा १०२ रन बनाएको थियो। अफगानिस्तानको सुरुवात भने कमजोर रह्यो। ओपनर मोहम्मद अक्रमले ८ बलमा २ रन मात्र बनाए भने हसन आइसाखिल २ बल खेलेर शून्य रनमै आउट भए।
अफगानिस्तानका लागि फैजल खान अहमदजाइ र नजिबुल्लाह जाड्रानले समान ३० रन बनाए। नटआउट नानगेयलिया खानले १७ रन जोडे। करिम जनतले ९, मोहम्मद इशकले ७ र अब्दुल्लाह अहमदजाइले १ रन बनाए।
नेपालका बलरमध्ये ललित राजवंशी र कुशल भुर्तेलले प्रभावशाली प्रदर्शन गरे। ललितले ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए भने कुशल भुर्तेलले २१ रन खर्चिएर ४ विकेट हात पारे।
नेपालले अफगानिस्तानलाई ६ अतिरिक्त रन दिएको थियो।
अफगानिस्तानमाथिको जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ। अब नेपालले एसियाली खेलकुद क्रिकेटमा शनिबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।

