काठमाडौं, असोज ९ — जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए। कप्तान रोहित पौडेलले ३३ रन तथा दीपेन्द्रसिंह ऐरीले १५ रनको योगदान दिए। अन्य नेपाली ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।
अफगानिस्तानका लागि फेसल खान अहमदजाई र नजिबुल्लाह जाद्रानले समान ३०–३० रन बनाए। नङ्गेलिया खान १७ रनमा अविजित रहे।
बलिङतर्फ नेपालका कुशल भुर्तेलले ४ विकेट लिए भने ललितनारायण राजवंशीले ३ विकेट हात पारे।
समूह ‘ए’ मा रहेको नेपालका लागि प्रतियोगिताको यो पहिलो खेल हो। अफगानिस्तानले भने दोस्रो खेल खेलेको हो। यसअघि अफगानिस्तानले जापानलाई ४८ रनले पराजित गरेको थियो।

