जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
समूह ‘ए’ अन्तर्गत शनिबार बिहान जापानसँगको खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपाल समूह विजेताका रूपमा अन्तिम आठमा पुगेको हो। अब क्वार्टरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल र जापानबीचको खेल सुरु भएलगत्तै वर्षा भएपछि खेल १५ ओभरमा सीमित गरिएको थियो। नेपालले छोटो प्रारूपमा आक्रामक ब्याटिङ गर्दै बलियो योगफल बनाउने क्रममा सन्दीप जोराले उत्कृष्ट अर्धशतक प्रहार गरे।
सन्दीपले ३२ बलमा ५ चौका र ३ छक्कासहित ५७ रन बनाए। लोकेश बमले पनि आक्रामक ब्याटिङ गर्दै २२ बलमा १ चौका र ६ छक्काको मद्दतले ५२ रन जोडे।
त्यस्तै आसिफ शेखले २१ रनको योगदान दिए। नेपाली ब्याटरहरूको आक्रामक प्रदर्शनपछि खेलको दोस्रो इनिङ सुरु हुनुअघि नै वर्षा भएपछि खेल अघि बढ्न सकेन।
वर्षा नरोकिएपछि खेल रद्द गरिएको हो। समूह चरणमा प्राप्त नतिजाका आधारमा नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो।

