बारामा विद्युत् सर्ट हुँदा १० वर्षीय बालकको मृत्यु, चार जना घाइते

पढ्न लाग्ने समय : 1 मिनेट
फोटो-एआइ

बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा विद्युत्को तार सर्ट भएर करेन्ट लाग्दा १० वर्षीय बालकको मृत्यु भएको छ। घटनामा बालकलाई बचाउने क्रममा चार जना घाइते भएका छन्।

मृत्यु हुनेमा स्थानीय श्याम रामका १० वर्षीय छोरा आकाश राम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार शुक्रबार घरमा टेलिभिजन चलाउने क्रममा विद्युत्को तार सर्ट भएपछि आकाशलाई करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो।
अस्पतालमा इसिजी परीक्षण गर्दा चिकित्सकले आकाशलाई अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको पुष्टि गरेका थिए।
करेन्ट लागेका आकाशलाई छुटाउने क्रममा उनकी ७० वर्षीया हजुरआमा ऐतबरिया देवी, १२ वर्षीया दिदी निलम, छिमेकी ४० वर्षीया फूलकुमारी राम र ४१ वर्षीया अनिता शर्मा पनि करेन्ट लागेर घाइते भएका छन्।
घाइते ऐतबरिया देवी, फूलकुमारी राम र अनिता शर्माको कोल्हवीस्थित तामागढी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। निलमको भने कोल्हवीस्थित सिटी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक घलेले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Comment