काठमाडौँ, असोज १५-इरानले क्षेत्रीय द्वन्द्व थप गम्भीर बने आवश्यक परे नयाँ तथा अत्याधुनिक हतियार युद्धमैदानमा प्रयोग गर्ने चेतावनी दिएको छ।
इस्लामिक रिभोलुसन गार्ड कोर्प्स (आईआरजीसी) का प्रवक्ता होसेन मोहेबीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा इरानले आफ्नो सैन्य क्षमता निरन्तर विस्तार गरिरहेको बताएका छन्। उनका अनुसार देशले नयाँ प्रविधि प्रयोग गर्दै स्वदेशमै हतियार विकास तथा उत्पादनलाई तीव्रता दिइरहेको छ।
मोहेबीले इरानले विद्यमान हतियार प्रणालीलाई समेत परिमार्जन र थप प्रभावकारी बनाउँदै लगेको बताए। द्वन्द्वको स्वरूप परिवर्तन भए त्यसअनुसार नयाँ हतियार प्रयोग गर्ने तयारी रहेको उनको भनाइ छ।
उनले पछिल्ला महिनामा अमेरिकाले इरानमाथि आर्थिक तथा अन्य दबाब बढाएको आरोप लगाउँदै सीमावर्ती क्षेत्रमा सक्रिय समूहलाई हतियार उपलब्ध गराएर अस्थिरता सिर्जना गर्न खोजिएको दाबी गरे। यस्ता प्रयासले इरानको तयारीमा कुनै असर नपारेको र सम्भावित चुनौती सामना गर्न आफूहरू तयार रहेको उनले बताए।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानी भूभागमा संयुक्त सैन्य कारबाही गरेपछि दुई पक्षबीचको तनाव उत्कर्षमा पुगेको थियो। त्यसपछि इरानले क्षेप्यास्त्र तथा ड्रोनमार्फत जवाफी कारबाही गरेको थियो। यस क्रममा हर्मुज जलमार्गलाई लिएर समेत तनाव बढेको थियो।
त्यसपछि जुन १८ मा दुवै पक्षबीच सैन्य तनाव अन्त्य गर्दै वार्तामार्फत समाधान खोज्ने समझदारी भएको बताइएको थियो। समझदारीअनुसार ६० दिनभित्र वार्ता अघि बढाउनुपर्ने भए पनि अगस्ट १७ मा उक्त समयसीमा सकिएको छ।
समयसीमा सकिएपछि पनि वार्ताको स्पष्ट प्रगति हुन नसकेको अवस्थामा पछिल्लो सैन्य गतिविधिले क्षेत्रीय तनाव थप बढाउने संकेत देखिएको छ। यस्तो अवस्थामा इरानको नयाँ हतियार प्रयोगसम्बन्धी चेतावनीले आगामी दिनमा द्वन्द्वको अवस्था थप अनिश्चित बन्न सक्ने देखिएको छ।
द्वन्द्व थप चर्किए नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी
Leave a Comment
Leave a Comment

