काठमाडौँ, आइतबार २० पुस २०८२
अमेरिकाले भेनेजुएलामाथि सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिई न्यूयोर्क पुर्याएको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा नयाँ सरकार गठन नहुन्जेलसम्म अमेरिकाले नै शासन व्यवस्था सञ्चालन गर्ने स्पष्ट पारेका छन्।
शनिबार अमेरिकी सेनाले भेनेजुएलाको राजधानी काराकाससहित प्रमुख शहरहरूमा आक्रमण गरेको थियो। सोही क्रममा अमेरिकी सेनाको विशेष आतंकवाद विरोधी इकाइ डेल्टा फोर्सले राष्ट्रपति मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको जनाइएको छ।
घटनापछि राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको नियन्त्रणमा रहेका मादुरोको तस्बिर सार्वजनिक गर्दै पक्राउको औपचारिक पुष्टि गरेका थिए। ट्रुथ सोसलमा सेयर गरिएको तस्बिरमा मादुरो हातमा हतकडी, आँखामा कालोपट्टी, ग्रे रंगको ट्र्याकसुट र हेडफोन लगाएको अवस्थामा देखिन्छन्।
फ्लोरिडास्थित आफ्नो निवासमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘सुरक्षित, सही र विवेकपूर्ण सत्ता हस्तान्तरण नभएसम्म भेनेजुएलाको शासन अमेरिकाले नै चलाउनेछ।’ उनले अमेरिकी सेनाको कारबाही सफल भएको दाबीसमेत गरेका छन्।
मादुरोविरुद्ध न्यूयोर्कमा मुद्दा दर्ता हुने
अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले मादुरो र उनकी पत्नीविरुद्ध न्यूयोर्कको सदर्न डिस्ट्रिक्ट अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जनाएको छ। अमेरिकाले लामो समयदेखि मादुरोमाथि लागुऔषध कारोबारलाई संरक्षण दिएको आरोप लगाउँदै आएको छ।
अमेरिकी अटर्नी जनरल पामेला बोन्डीले सामाजिक सञ्जाल एक्समार्फत मादुरोमाथि नार्को–आतंकवाद, कोकिन आयात, मेसिनगन तथा खतरनाक हतियार प्रयोगसम्बन्धी षड्यन्त्रका अभियोग लगाइने जानकारी दिएकी छन्। उनका अनुसार मादुरोले चाँडै अमेरिकी अदालतमा उपस्थित भई न्यायिक प्रक्रियाको सामना गर्नेछन्। यद्यपि मादुरोकी पत्नीमाथि लाग्ने अभियोगबारे भने अझै खुलाइएको छैन।
अन्तर्राष्ट्रिय निन्दा बढ्दै
अमेरिकाको सैन्य आक्रमणको रूस, चीन, कोलम्बिया लगायत देशहरूले कडा निन्दा गरेका छन्। रूसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यसलाई गम्भीर चिन्ताको विषय भन्दै तत्काल निन्दा गरिनुपर्ने उल्लेख गरेको छ।
कोलम्बियाले पनि संयुक्त राष्ट्रसंघको चार्टर विपरीत एकपक्षीय सैन्य कारबाही अस्वीकार्य हुने जनाएको छ। यद्यपि आक्रमणबाट भएको क्षति र मानवीय हताहतीबारे अझै आधिकारिक विवरण सार्वजनिक भएको छैन। प्रभावित क्षेत्रमा बम विस्फोट र धुँवाका मुस्लो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
भेनेजुएलाको कडा प्रतिक्रिया
भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति मादुरो र प्रथम महिला सिलिया फ्लोरेसबारे सरकारसँग कुनै आधिकारिक जानकारी नरहेको बताउँदै उनीहरू जीवित रहेको प्रमाण तत्काल उपलब्ध गराउन अमेरिकासँग माग गरेकी छन्।
उता रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले देशभर सैन्य बल परिचालन गरिएको जानकारी दिँदै विदेशी सैनिकको उपस्थितिको कडा विरोध गर्ने चेतावनी दिएका छन्। भिडियो सन्देशमार्फत उनले यसलाई ‘भेनेजुएलामाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण’ भन्दै जनतालाई एकजुट हुन आह्वान गरेका छन्।

