मल अभावदेखि विवादित अडियोसम्म : कृषि मन्त्रीसँग सांसदहरूले मागे जवाफ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौँ, असोज १५-रासायनिक मलको अभाव, वितरण प्रणालीमा देखिएको समस्या तथा कृषि मन्त्रालयसँग जोडिएको विवादास्पद अडियो प्रकरणबारे सांसदहरूले कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग जवाफ माग गरेका छन्।

संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा सांसदहरूले मन्त्रालयको पछिल्लो ६ महिनाको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै किसानले मल नपाइरहेको अवस्थामा मन्त्रालयको तथ्यांकमा भने पर्याप्त मल रहेको देखिनु विरोधाभासपूर्ण भएको बताएका हुन्।

सांसद खगेन्द्र कर्णले टेन्डर प्रक्रियामा हुने ढिलाइ तथा मल वितरणमा देखिएको चुहावटले किसान प्रभावित भएको बताए। आगामी आर्थिक वर्षदेखि मल वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउन उनले मन्त्रालयको ध्यानाकर्षण गराए।

सांसद ज्ञानेन्द्र सिंह महताले सुदूरपश्चिमसहित विभिन्न जिल्लामा किसानले भोगिरहेका समस्या, कृषि उपजको बजारीकरण, युवालाई कृषिमा आकर्षित गर्ने नीति र जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असरबारे जवाफ मागे। उनले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट विकास भएका प्रविधि किसानको खेतसम्म पुग्न नसकेको विषयसमेत उठाए।

बैठकमा सामाजिक सञ्जालमा सार्वजनिक भएको विवादास्पद अडियो प्रकरणले पनि प्रवेश पायो। सांसद पुनम अग्रवाल र लक्ष्मीप्रसाद पोखरेलले अडियोबारे मन्त्रीसँग स्पष्टीकरण माग गर्दै नार्कको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विषयमा समेत प्रश्न गरे।

त्यस्तै, सांसद सुरेशकुमार चौधरीले भूउपयोग नीति र सिँचाइको स्पष्ट योजना नहुँदा कृषि क्षेत्र प्रभावित भइरहेको बताए। सरकारले अर्गानिक मललाई प्राथमिकता दिने नीति लिए पनि कार्यान्वयन कमजोर रहेको भन्दै उनले रासायनिक मलमाथिको निर्भरता घटाउनुपर्नेमा जोड दिए।

सांसद सागर ढकालले भने समितिले साना विषयमा अल्झिनुभन्दा कृषि क्षेत्रको दीर्घकालीन सुधारका लागि नीतिगत विषयमा केन्द्रित हुनुपर्ने धारणा राखे।

अडियोबारे मन्त्री चौधरीको स्पष्टीकरण

समितिमा उठेको अडियो प्रकरणबारे मन्त्री गीता चौधरीले आफूले अडियोमा कुराकानी गरेका भनिएका व्यक्तिहरूलाई नचिनेको स्पष्ट पारेकी छन्।

सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त अडियोमा दुई व्यक्तिबीच लेनदेनसम्बन्धी कुराकानी भएको र त्यसक्रममा कृषि मन्त्री चौधरी, गृहमन्त्री सुधन गुरुङ तथा रास्वपा सांसद ठाकुरसिंह थारुसहितका व्यक्तिको नाम लिइएको थियो। अडियोमा बोल्ने एक व्यक्तिले मन्त्री चौधरीलाई आफ्नो ‘मामाकी छोरी’ भनेर सम्बोधन गरेको दाबीसमेत सार्वजनिक भएको थियो।

समितिको बैठकमा मन्त्री चौधरीले अडियोमा सुनिएका व्यक्तिसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन्।

उनले उक्त विषय कानुनी प्रक्रियामा प्रवेश गरिसकेको र अनुसन्धान जारी रहेकाले थप विवरण सार्वजनिक गर्न नमिल्ने बताइन्। आफू सुशासनका लागि काम गर्दै आएको उल्लेख गर्दै उनले प्रमाणसहित विषय उठाइए त्यसको सामना गर्न तयार रहेको धारणा राखिन्।

मन्त्री चौधरीले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुनै विषय सार्वजनिक गर्नुअघि त्यसको सत्यतथ्य पुष्टि गर्नसमेत आग्रह गरिन्।

Leave a Comment