वीरगन्ज, १५ असोज २०८३-वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्नातकोत्तर तह पहिलो वर्षका आवासीय चिकित्सकहरूले अध्ययनका लागि वैकल्पिक व्यवस्था गरिदिन माग गरेका छन्। १६ दिनदेखि आन्दोलनमा रहेका चिकित्सकहरूले आफूहरूका लागि सुरक्षित र सहज शैक्षिक वातावरण सुनिश्चित गर्न चिकित्सा शिक्षा आयोगसँग आग्रह गरेका हुन्।
दैनिक ३६ घण्टासम्म ड्युटीमा खटाउने, अनावश्यक रूपमा हाजिरी काट्ने तथा विभिन्न कारण देखाउँदै कारबाही गर्ने गरिएको आरोप लगाउँदै पीजी पहिलो वर्षका ५५ जना आवासीय चिकित्सक भदौ ३१ गतेदेखि आन्दोलनमा छन्।
चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि कलेजले स्नातकोत्तर तह पहिलो वर्षको पठनपाठनसहित शैक्षिक तथा क्लिनिकल गतिविधि स्थगित गरेको जनाएको छ। अर्को सूचना जारी नभएसम्म कक्षा, शैक्षिक गतिविधि, क्लिनिकल पोस्टिङ, विभागीय प्रशिक्षण, वार्ड तथा आकस्मिक सेवाको ड्युटीलगायत प्रशिक्षणसम्बन्धी गतिविधि रोकिएको कलेजको भनाइ छ।
पठनपाठन लामो समयदेखि अवरुद्ध भएपछि आवासीय चिकित्सकहरूले अब आफूहरूलाई अन्य मेडिकल कलेजमा स्थानान्तरण गरी अध्ययन गर्ने वातावरण मिलाउन आयोगसमक्ष माग गरेका छन्।
एक आवासीय चिकित्सकका अनुसार १६ दिनदेखि पढाइ रोकिएको र कलेजमै फर्किएर अध्ययन गर्ने अवस्था नरहेको भन्दै आयोगलाई वैकल्पिक व्यवस्थाका लागि आग्रह गरिएको हो।
उनका अनुसार आयोगका पदाधिकारीहरूले समस्या समाधानका लागि पहल भइरहेको आश्वासन दिएका छन्। तर लामो समय बितिसक्दा पनि ठोस निर्णय हुन नसकेको चिकित्सकहरूको गुनासो छ।
उता नेसनल मेडिकल कलेजले भने आन्दोलनरत आवासीय चिकित्सकका गतिविधिका कारण कलेजको शैक्षिक तथा क्लिनिकल वातावरण प्रभावित भएको दाबी गरेको छ। शैक्षिक अनुशासन कायम राख्न तथा संस्थागत गतिविधि र स्वास्थ्य सेवा प्रभावित हुन नदिन विद्यार्थीहरूलाई फिर्ता बोलाउन त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) लाई पत्राचार गरिएको कलेजले जनाएको छ।
यसले गर्दा एकातर्फ आवासीय चिकित्सकहरूले वैकल्पिक अध्ययनको माग गरिरहेका छन् भने अर्कोतर्फ कलेजले उनीहरूलाई फिर्ता बोलाउन विश्वविद्यालयसमक्ष आग्रह गरेको अवस्था छ। विवाद समाधान नहुँदा पहिलो वर्षका आवासीय चिकित्सकको पठनपाठन प्रभावित बनेको छ।

