कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु, २९७ सदस्यीय केन्द्रीय समिति चयन हुँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज २० — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया मंगलबारदेखि सुरु भएको छ। महाधिवेशनबाट २९७ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ।

कांग्रेस निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरणसँगै मनोनयन दर्ताको प्रक्रिया अघि बढाएको हो। निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मंगलबार दिउँसो १२ः३० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने कार्यतालिका तय गरिएको छ।
यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १६७ सदस्यबाट बढाएर २९७ सदस्यीय बनाएको छ। सोमबार पारित संशोधित विधानअनुसार पार्टीको पदाधिकारी संख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ।
नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपसभापति र महिला उपसभापतिको व्यवस्था थप गरिएको छ। अब उपसभापतिको संख्या चार पुगेको छ। महामन्त्रीको संख्या तीन बनाइएको छ भने तीमध्ये एक पद महिलाका लागि अनिवार्य गरिएको छ।
त्यस्तै, दुई खुला सहमहामन्त्रीको पद थपिएसँगै सहमहामन्त्रीको संख्या १५ पुगेको छ। विधानमा प्रवक्ता पदसमेत थप गरिएको छ। आवश्यकताअनुसार सहप्रवक्ताको संख्या थप गर्न सकिने व्यवस्था कांग्रेसले गरेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि देशभरबाट आएका ७ हजार ११४ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। उम्मेदवारी दर्तापछि निर्वाचन प्रक्रिया अघि बढ्दै जानेछ।

Leave a Comment