कोलकतामा नेपाली तेक्वान्दोको चमक : जैसीदेवल डोजाङले जित्यो ११ पदक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

९ पुस,काठमाडौँ । भारतको कोलकतामा सम्पन्न नवौँ टीआईए खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका जैसीदेवल तेक्वान्दो डोजाङका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै ११ पदक जित्न सफल भएका छन् ।

डिसेम्बर २१ देखि २३ सम्म कोलकतास्थित विश्व बंगला कन्भेन्सन सेन्टरमा आयोजित प्रतियोगितामा जैसीदेवलका खेलाडीले ९ स्वर्ण, १ रजत र १ कांस्य पदक हात पार्दै नेपाली तेक्वान्दोको सशक्त उपस्थिति देखाएका हुन् ।

डोजाङका प्रमुख राजेश प्रजापतिका अनुसार पुम्से विधातर्फ रोजेन प्रजापति र मुविक्क्षा गजुरेलले स्वर्ण पदक जित्दा वितिशा तामाङले रजत पदक प्राप्त गरिन् ।

त्यसैगरी गेरोगी विधातर्फ अभिमन्यु गजुरेल, वितिशा तामाङ, यमुना जर्घा मगर, अनमोल थापा मगर, सुप्रिया जोशी, राजीव गुरुङ र मुविक्क्षा गजुरेलले स्वर्ण पदक जितेका छन् । राहुलहाङ लिम्बूले कांस्य पदक जित्दै टोलीको पदक सङ्ख्या दोहोरो अंकमा पुर्‍याएका हुन् ।

प्रतियोगितामा अन्जित राई टोली प्रशिक्षकको भूमिकामा थिए भने भरत कारन्जित र सञ्जयध्वज जोशी अफिसियलका रूपमा सहभागी थिए ।

जैसीदेवल डोजाङको यस उपलब्धिलाई नेपाली तेक्वान्दो खेलको अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिस्पर्धात्मक क्षमताको संकेतका रूपमा हेरिएको छ ।

Leave a Comment