काठमाडौं, माघ १७ — नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनअघि नै पार्टीको १५औँ महाधिवेशन सम्पन्न हुने स्पष्ट पारेका छन्।
शनिबार काठमाडौं–४ मा आयोजित चुनाव लक्षित कार्यक्रममा बोल्दै सभापति थापाले अब कांग्रेसमा उम्मेदवार चयन प्रक्रिया पूर्ण रूपमा प्राइमरी इलेक्सनमार्फत हुने बताए। उनका अनुसार वडास्तरबाटै पार्टी कार्यकर्ताले उम्मेदवार छान्ने व्यवस्था लागू गरिनेछ।
“अब नयाँ स्थानीय र प्रदेश निर्वाचनअघि पार्टीको अधिवेशन भइसक्छ,” थापाले भने, “र त्यसपछि कांग्रेसका उम्मेदवार टिकट वडाबाटै प्राइमरी प्रक्रियामार्फत चयन हुनेछन्।”
उनले पार्टीभित्र टिकटका लागि सभापति वा महामन्त्रीको घर धाउनुपर्ने पुरानो अभ्यासको अन्त्य भएको दाबी गरे।
“अब कसैले पनि पार्टी सभापति वा महामन्त्रीको घर धाउनु पर्दैन,” उनले जोड दिए।
सभापति थापाले कांग्रेसमा गुटबन्दी र ६०–४० को भागबण्डा प्रणाली पनि समाप्त भएको दाबी गरे।
“अब पार्टीभित्र न गुट छ, न भागबण्डा। कांग्रेसले सबैलाई समान व्यवहार गर्ने गरी पार्टी सञ्चालन गर्छ,” उनले भने।
नागरिक र पार्टी सदस्यलाई सशक्त बनाउने अभियान सुरु भइसकेको उल्लेख गर्दै थापाले पार्टी नेतृत्व अपारदर्शी र बन्द कोठाको राजनीतिबाट मुक्त भएको दाबी गरे।
“यो बदलिएको कांग्रेस हो। यहाँ कसैसँग पनि सभापतिको बन्द कोठामा अप्राकृतिक सम्बन्ध हुँदैन,” उनले स्पष्ट पारे।
सभापति थापाका अनुसार नयाँ कांग्रेस आन्तरिक लोकतन्त्र, पारदर्शिता र समान अवसरको आधारमा अघि बढ्नेछ।

