बन्दसूची संशोधनका लागि दललाई अतिरिक्त समय, नाम फिर्तापछि नयाँ उम्मेदवार राख्न पाउने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

शनिबार, पुस १९, २०८२

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ पेश गरिएको बन्दसूचीमा रहेका उम्मेदवारले तोकिएको समयभित्र आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। नाम फिर्ता भएको स्थानमा सम्बन्धित राजनीतिक दलले नयाँ उम्मेदवार समावेश गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन आयोगका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनका लागि पुस १३ र १४ गते ६४ राजनीतिक दलबाट प्राप्त समानुपातिक उम्मेदवारी सूची हाल रुजु प्रक्रियामा छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कानुनअनुसार समावेशी मापदण्ड मिले–नमिलेको जाँच गरी पुस २० गतेभित्र सम्बन्धित दललाई जानकारी गराइनेछ। त्यसपछि दलहरूले आवश्यक संशोधन गरी पुस २७ गतेसम्म पुनः बन्दसूची पेस गर्नुपर्नेछ।

संशोधित सूचीमा रहेका कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा पुस २८ गते आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। त्यसरी नाम फिर्ता भएपछि आयोगले सम्बन्धित दललाई जानकारी गराउने र रिक्त स्थानमा नयाँ उम्मेदवार पठाउन दललाई अवसर दिइनेछ।

निर्वाचन आयोगका अनुसार बन्दसूची माघ ४ गते सार्वजनिक गरिनेछ। त्यसपछि सर्वसाधारणले उम्मेदवार कानुनी रूपमा अयोग्य भएको दाबी–विरोध गर्न सक्नेछन्। छानबिनपछि माघ २० गते अन्तिम नामावली प्रकाशन गरिने र त्यसपछि सूचीमा कुनै परिवर्तन नहुने स्पष्ट गरिएको छ।

Leave a Comment