कांग्रेसको आधिकारिकता टुंग्याउन निर्वाचन आयोग दबाबमा, आज–भोलिमै निर्णयको सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २ माघ — नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद चाँडै टुंग्याउन निर्वाचन आयोगमाथि तीव्र दबाब बढेको छ । पार्टीका दुवै प्रतिस्पर्धी समूहका नेताहरू पालैपालो आयोग पुगेर ज्ञापनपत्र बुझाउने, ध्यानाकर्षण गराउने र भेटघाट गर्ने क्रम तीव्र बनेको हो ।

लगातारको राजनीतिक दबाबका कारण आयोगको नियमित कामकाज प्रभावित हुन थालेको भन्दै आयोगभित्रै चासो बढेको छ । यही परिस्थितिलाई ध्यानमा राख्दै आयोगले सकेसम्म छिटो निर्णय सार्वजनिक गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु हुनासाथ गगन थापा–विश्वप्रकाश शर्मा समूहले आयोगलाई आफ्नो महाधिवेशन भइरहेको जानकारी गराएको थियो । त्यसको प्रतिवादस्वरूप देउवा पक्षले भने त्यहाँ कुनै वैधानिक विशेष महाधिवेशन नभएको दाबी गर्दै आयोगमा लिखित पत्र बुझाएको थियो ।

महाधिवेशन सम्पन्न भएपछि दुवै समूहले पार्टी अभिलेख अद्यावधिकको माग गर्दै आयोगमा निवेदनसहित फाइल बुझाएका थिए । यसैक्रममा शुक्रबार बिहान देउवा समूहले विशेष महाधिवेशनमा हस्ताक्षर फिर्ता लिएको भन्दै करिब ५ सय जनाको सूची आयोगमा पेस गरेको छ ।

देउवा पक्षबाट अप्रत्यक्ष दबाब र धम्की आएको निष्कर्षसहित गगन–विश्व समूह पनि आयोग पुगेको थियो । आयोगसम्बद्ध एक स्रोतले भन्यो, “परिसरभित्र देखिएका गतिविधि त एउटा पक्ष मात्रै हुन्, फोन र अन्य माध्यमबाट आएको दबाब कति होला भन्ने अनुमान गर्न कठिन छ ।”

स्रोतका अनुसार आयोगका पदाधिकारीहरू अहिले निकै दबाबपूर्ण अवस्थामा छन् र तत्काल निर्णय दिनुपर्ने मनस्थितिमा काम भइरहेको देखिन्छ । सम्भव भए शुक्रबार अपराह्न नै, अन्यथा शनिबारसम्म कुनै निर्णय आउन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ ।

सोमबार सार्वजनिक बिदा र मंगलबार देशभर मनोनयन दर्ता हुने कार्यतालिकाका कारण पनि आयोगलाई समयमै निर्णय दिनुपर्ने बाध्यता थपिएको छ ।

यस विषयमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिले राजनीतिक दलहरूसँग छलफल जारी रहेको जानकारी दिए । “छलफल र भेटघाटपछि मात्रै आयोगको बैठक बस्ने सम्भावना हुन्छ,” उनले भने, “आजै के निर्णय हुन्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन ।”

Leave a Comment