काठमाडौँ, असोज २६ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी सेवामा व्यावसायिक सफलता हासिल गर्न नैतिकता, निष्ठा, इमानदारी र जिम्मेवारीप्रतिको जवाफदेहिता अनिवार्य रहेको बताएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा सोमबार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दीक्षित प्रहरी अधिकृतहरूलाई तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
उनले प्रहरी अधिकृतहरूले व्यावसायिक आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम तथा कार्यविधिको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए। जिम्मेवारी निर्वाह गर्दा जवाफदेही बन्नु र आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहनु नै व्यावसायिक सफलताको आधार भएको उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकका अधिकार तथा स्वतन्त्रताको संरक्षण गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको उल्लेख गरे। यस्तो जिम्मेवारी पूरा गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष र भेदभावरहित ढङ्गले काम गर्न उनले प्रहरी अधिकृतहरूलाई आग्रह गरे।
नागरिकको भावना र अपेक्षाअनुसार सेवा प्रवाह गर्नुपर्नेमा जोड दिँदै उनले प्रहरी सङ्गठनभित्र आपसी सहयोग, सहकार्य र संस्थाप्रतिको प्रतिबद्धता आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन सूचना प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्ने पनि बताए। प्रविधिको प्रयोगबाट अनुसन्धानलाई छिटो, सहज, पारदर्शी र वैज्ञानिक बनाउन सकिने तथा अपराध नियन्त्रण र घटनाको समयमै अनुसन्धान गर्न सहयोग पुग्ने उनको धारणा थियो।
उनले अपराध अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक र प्रविधिमैत्री बनाउन प्रहरी नेतृत्व, तालिम तथा जनशक्तिको क्षमता विकास महत्त्वपूर्ण हुने उल्लेख गरे। यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।
समारोहमा प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै सफल कार्यकाल र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे। प्रहरी सेवामा आबद्ध रहन प्रेरणा र सहयोग प्रदान गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे।
दीक्षान्त समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।

