कांग्रेसको नयाँ नेतृत्वमा उपसभापति र महामन्त्रीको नतिजा सार्वजनिक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज २६ — विश्व खबर-नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना सकिएको छ।

अन्तिम नतिजाअनुसार उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल र उदयशमशेर राणाले बाजी मार्दा महिला महामन्त्रीमा डिला संग्रौला विजयी भएकी छन्।
खुला उपसभापतितर्फ चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ मत प्राप्त गर्दै सबैभन्दा बढी मत ल्याए। मधु आचार्य २ हजार ३४२ मतसहित दोस्रो विजयी उम्मेदवार बने।
यस पदका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे।
समावेशी उपसभापतिमा विनोदकुमार चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत प्राप्त गरे।

फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत पाए।
महामन्त्रीमा प्रदीप पौडेल पहिलो
खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले ४ हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे। उदयशमशेर राणा २ हजार ३३० मतसहित दोस्रो विजयी उम्मेदवार बने।
अन्य प्रतिस्पर्धीमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे।
महिला महामन्त्रीमा डिला संग्रौलाको जित
महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गरिन् भने रीता खनालले ८०४ मत पाइन्।
उपसभापति र महामन्त्री पदको नतिजा सार्वजनिक भएसँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नेतृत्व चयन प्रक्रिया थप अघि बढेको छ। निर्वाचित पदाधिकारीले पार्टीको संगठन सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक रणनीति निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Leave a Comment