बारामा छुट्टाछुट्टै सडक दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते कलैया

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

कलैया, २५ असोज-बारामा छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सिम्रौनगढमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो भने जितपुर सिमरामा पिकअपको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा शनिबार साँझ मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो। दुर्घटनामा उनका श्रीमान् सबु मोहम्मदसहित मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई साँझ करिब ६ः४५ बजे ठक्कर दिएको थियो। साइकलमा सवार रिजवनालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा साइकल चालक उनका श्रीमान् करिब ४० वर्षीय सबु मोहम्मद घाइते भएका छन्। उनको टाउको र निधारमा चोट लागेको छ। मोटरसाइकल चालक अजय महतो र पछाडि सवार विवेक महतो पनि घाइते भएका छन्। तीनै जनालाई थप उपचारका लागि वीरगञ्जस्थित नारायणी न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित क्विक ट्वान्टी होटलअगाडि आइतबार बिहान पिकअपको ठक्करबाट ६० देखि ६५ वर्ष उमेरका रामबहादुर थिङको मृत्यु भएको छ।
हेटौँडा–पथलैया सडकखण्डमा बिहान करिब ५ बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका थिङलाई प्रहरीले उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पुर्‍याएको थियो। अस्पतालमा बिहान ७ बजेर ३ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न प्रदेश २–०३–००१ च १७७७ नम्बरको योद्धा पिकअप गाडी र चालक महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिम्रौनगढको दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
बारामा एकै दिन भएका यी दुर्घटनाले जिल्लाका सडकमा सवारीसाधन चलाउँदा सावधानी अपनाउनु पर्ने आवश्यकतालाई फेरि उजागर गरेको छ।

Leave a Comment