पचरौतामा ५५ किलो गाँजासहित ४५ वर्षीय यादव पक्राउ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कलैया, २५ असोज-बाराको पचरौता नगरपालिकामा प्रहरी गस्तीका क्रममा ५५ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर टोलका अन्दाजी ४५ वर्षीय राजकिशोर प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीका अनुसार शनिबार राति इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको गस्ती टोलीले पचरौता नगरपालिका–६ मा यादवलाई रोकेर जाँच गर्ने क्रममा उनको साथबाट ५५ किलो गाँजा फेला पारेको थियो। त्यसपछि प्रहरीले उनलाई गाँजासहित नियन्त्रणमा लिएको हो।
बरामद गाँजासहित पक्राउ परेका यादवमाथि इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध ओसारपसार तथा कारोबार नियन्त्रणका लागि निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Leave a Comment