काठमाडौँ, २५ असोज-आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ।
कप्तान रोहितकुमार पौडेलको शतकीय पारी र बलरहरूको प्रभावशाली प्रदर्शनमा नेपालले आइतबार क्यानडालाई २४ रनले पराजित गरेको हो।
ओमानको अल अमेरेट क्रिकेट मैदानमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडाले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै २११ रन मात्र बनाउन सक्यो। नेपालका लागि करण केसी, ललित राजवंशी, नन्दन यादव र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए।
क्यानडाको ब्याटिङमा आरोन जोनसनले सर्वाधिक ४४ रन बनाए। समित गोहेलले ३५, श्रेयास मोभ्भा र कप्तान हम्जा तारिकले समान २६ रन जोडे। अखिल कुमार ३० रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन सकेनन्।
त्यसअघि टस जितेर क्यानडाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३५ रन बनाएको थियो। नेपालको इनिङ्समा कप्तान रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै १२७ बलमा आठ चौका र एक छक्कासहित १०१ रन बनाए। उनको शतकीय पारीले नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याएको थियो।
गुल्सन झाले ३४ बलमा चार चौका र तीन छक्काको मद्दतले ४८ रन जोडे भने बसिर अहमदले ३० रन बनाए। अर्जुन कुमालले २३ रनको योगदान दिए। आशिफ शेख, इसान पाण्डे, करण केसी र दीपेन्द्रसिंह ऐरीले भने उल्लेख्य रन बनाउन सकेनन्।
क्यानडाका अखिल कुमारले चार विकेट लिए। सुखजिन्दर सिंहले तीन तथा जाहिद सिरजादले दुई विकेट हात पारे।
जितसँगै नेपालले लिग–२ को अन्तिम शृंखलामा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने आफ्नो अभियानलाई जीवित राखेको छ। शीर्ष चारमा रहेर विश्वकपको ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना भने यसअघि नै समाप्त भइसकेको छ। अब नेपालको मुख्य लक्ष्य लिग–२ को शीर्ष छभित्र रहँदै एकदिवसीय मान्यता कायम राख्नु हो।
शृंखलाको दोस्रो खेलमा नेपालले मंगलबार आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ। एकदिवसीय मान्यता जोगाउने सम्भावना बलियो बनाउन नेपालले बाँकी खेलमा पनि जित निकाल्नुपर्नेछ।

