काठमाडौं, २७ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ सहमहामन्त्री पदमा अजयबाबु सिवाकोटी र रामहरि खतिवडा निर्वाचित भएका छन्।
यस्तै, महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापाले सर्वाधिक मत प्राप्त गरेकी छन्।
केन्द्रीय निर्वाचन समितिका अनुसार सहमहामन्त्री पदमा सिवाकोटीले २ हजार १७२ मत प्राप्त गर्दा खतिवडाले २ हजार ९१९ मत ल्याएका छन्। खुलातर्फ सहमहामन्त्रीका दुई पदका लागि नौ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचनमा डिल्लीराम सुवेदीले १ हजार ८५१, देवेन्द्रराज कँडेलले १ हजार ३८२, राजीव ढुंगानाले १ हजार २४१, विकास कोइरालाले १ हजार १४९, अमृतकुमार अर्यालले १ हजार ३९, रमेशप्रसाद भुसालले ८२१ र विमलराज क्षेत्रीले २८२ मत प्राप्त गरेका छन्। सहमहामन्त्री पदका लागि कुल ७ हजार ४५ मत खसेको थियो।
यसैगरी, महिलातर्फ खुला केन्द्रीय सदस्यका १५ पदमा वासना थापा सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। कांग्रेस संसदीय दलकी प्रमुख सचेतकसमेत रहेकी थापा महिला खुलातर्फ पहिलो स्थानमा रहेकी हुन्।
महिलातर्फ खुला केन्द्रीय सदस्यमा ठगीको आरोपमा पक्राउ परेकी विनिता खड्का पनि निर्वाचित भएकी छन्। उनी सातौँ स्थानमा रहेर केन्द्रीय सदस्य बनेकी हुन्। यसअघि विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी खड्का पुनः निर्वाचित भएकी छन्।
महिलातर्फ खुला केन्द्रीय सदस्यमा थापा र खड्कासहित सांसद उर्मिला थपलिया, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी तथा पूर्वसांसद कुसुमदेवी थापा निर्वाचित भएका छन्।
त्यस्तै धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल, रिता थापा मगर, कल्पना तिवारी, गंगा दाहाल र कान्तिका सेजुवाल पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतपरिणाम सार्वजनिक भएसँगै पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ।

