काठमाडौँ, २७ असोज-सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको छ।
यता सुनारले भने सार्वजनिक अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरी बनाइएको दाबी गर्दै आफूमाथि उठेका आरोपको सत्यतथ्य छानबिन गर्न चुनौती दिएका छन्।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रीय अनुशासन आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी दिएका छन्।
सार्वजनिक अडिओमा महिलामाथि अपमानजनक शब्द प्रयोग गरिएको, धम्की दिइएको, दबाब सिर्जना गरिएको तथा आर्थिक लेनदेनसँग सम्बन्धित विषय उठेको भन्दै पार्टीले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। विज्ञप्तिमा महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लंघन र फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको उल्लेख छ।
छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको रास्वपाले जनाएको छ। साथै, राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
सार्वजनिक भएको अडिओमा सुनारले एक महिलालाई गालीगलौज गर्दै पैसा नदिएको विषयमा धम्की दिएको, फेसबुक खाता पुनः सक्रिय गर्न दबाब दिएको तथा राजीनामा दिन भनेको सुनिन्छ। उक्त अडिओमा महिलाले आफूले मानसिक तनाव र विभिन्न प्रकारका दुर्व्यवहार सहनुपरेको दाबी गरेकी छन्। ती महिला बागमती प्रदेश सरकारकी पूर्वराज्यमन्त्री रहेको बताइएको छ। यद्यपि, अडिओको प्रामाणिकता र त्यसमा व्यक्त आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ।
यसैबीच, सांसद सुनारले मंगलबार बिहान सार्वजनिक गरेको भिडियो सन्देशमा आफूविरुद्ध सार्वजनिक भएका आरोपहरू असत्य भएको दाबी गरेका छन्। प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको भनाइ छ।
सुनारले सार्वजनिक अडिओ एआईलगायत प्रविधिको प्रयोगबाट तयार पारिएको दाबी गर्दै पार्टी र सरकारलाई निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको सत्यतथ्य जाँचका लागि सहयोग गर्न तयार रहेको बताउँदै उनले आम नागरिकलाई अपुष्ट प्रचारमा विश्वास नगर्न पनि अपिल गरेका छन्।
अब यस प्रकरणमा रास्वपाको आन्तरिक छानबिन र राज्यका सम्बन्धित निकायबाट हुने अनुसन्धानले सार्वजनिक अडिओको वास्तविकता तथा त्यसमा उठाइएका आरोपबारे थप तथ्य स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

