बारा, असोज २७ । ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्।
मंगलबार जिल्ला प्रहरी कार्यालय बाराको परिसरमा आयोजित कार्यक्रममा प्रहरी कर्मचारी तथा स्थानीय भद्रभलादमीसहित ४५ जनाले रक्तदान गरेका हुन्। रक्तदान कार्यक्रम प्रादेशिक अस्पताल कलैया अन्तर्गतको रक्तसञ्चार शाखाको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
‘विपद्मा सारथी, संकटमा छाया, प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नारासहित आयोजित कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले गरेका थिए। उनले प्रादेशिक अस्पताल कलैयाको रक्तसञ्चार शाखाका इन्चार्ज राजाबाबु गुप्तालाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरेका थिए।

