नेपालको बलियो प्रदर्शन, ओमान ११३ रनले पराजित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, २७ असोज । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई ११३ रनले हराउँदै शानदार जित दर्ता गरेको छ। मंगलबार भएको प्रतिस्पर्धामा नेपालले प्रस्तुत गरेको २६४ रनको लक्ष्य पछ्याउने क्रममा ओमान १५० रनमै अलआउट भएपछि नेपाल विजयी बनेको हो।
पहिले ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ६१ रनको उत्कृष्ट पारी खेले। अर्जुन कुमालले ४०, ईशान पाण्डे र बसिर अहमदले समान ३७ तथा दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए।
करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै १६ बलमा चार छक्का र एक चौकाको मद्दतमा ४० रन जोडे। सन्दीप जोराले १०, नन्दन यादवले सात र आसिफ शेखले चार रन बनाए।
२६४ रनको लक्ष्यसहित मैदानमा उत्रिएको ओमानले नेपाली बलरसामु लामो समय टिक्न सकेन। कप्तान विनायक शुक्लाले ७७ रन बनाए पनि अन्य ब्याटरबाट उल्लेखनीय साथ नपाउँदा ओमानको इनिङ्स १५० रनमा सीमित भयो। जय ओडेड्राले २५ र जतिन्दर सिंहले १८ रन बनाए।
नेपालका लागि नन्दन यादव र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।
लिग–२ को अंक तालिकामा नेपाल ३४ खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ। नेपालले हालसम्म १३ खेल जितेको छ भने १९ खेलमा हार बेहोरेको छ। ओमान भने ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा रहेको छ।
ओमानविरुद्धको यो फराकिलो जितले नेपाललाई लिग–२ मा महत्त्वपूर्ण सफलता दिलाएको छ।

Leave a Comment