काठमाडौं -६ असोज ।
राष्ट्रपति निवास शितल निवासमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियारलाई शपथ दिलाएका हुन्।
मन्त्रालय तोकिएअनुसार सिन्हाले उद्योग, कानुन तथा भूमि मन्त्रालय, पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेलले सञ्चार तथा सूचना मन्त्रालय र परियारले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन्।
यसअघि स्वास्थ्य मन्त्रालयका लागि अतिरिक्त सचिव डा. संगीता मिश्राको नाम सिफारिस भए पनि अन्तिम समयमा आएर ‘होल्ड’ गरिएको छ।
गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद् अहिले ८ सदस्यीय भएको छ।
शपथ समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री सुशीला कार्की लगायत उच्च पदस्थ व्यक्तिहरू उपस्थित थिए।

