काठमाडौँ, असोज ३१। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमानमा जारी शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध पहिले बलिङ सुरु गरेको छ।
लिग–२ को अंकतालिकामा छैटौँ स्थानमा रहेको नेपालका लागि आजको खेल आफ्नो स्थान सुरक्षित गर्ने महत्त्वपूर्ण अवसर बनेको छ।
ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा शनिबार बिहान सवा ११ बजे सुरु भएको खेलमा टस हारेपछि नेपालले पहिले बलिङ गर्ने निम्तो पाएको हो।
नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा गुल्शन झा टोलीमा समावेश भएका छन्।
ओमानमा जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र आयोजक ओमानलाई पराजित गरिसकेको छ।
क्यानडा भने सुरुवाती दुई खेलमा नेपाल र ओमानसँग पराजित भए पनि बिहीबार ओमानलाई हराउँदै लयमा फर्किएको छ।
लिग–२ को अंकतालिकामा नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ। क्यानडा ३५ खेलबाट २७ अंकसहित नेपालको ठीक पछाडि सातौँ स्थानमा छ।
आजको खेलमा नेपाल विजयी भए छैटौँ स्थान सुरक्षित हुनेछ। तर, क्यानडासँग पराजित भए नेपाललाई अन्तिम खेलमा ओमानविरुद्ध जित निकाल्नुपर्ने दबाब बढ्नेछ। नेपाल पराजित भए क्यानडा छैटौँ स्थानमा उक्लिनेछ।
यसकारण क्यानडाविरुद्धको खेल नेपालका लागि अंकतालिकामा आफ्नो स्थान कायम राख्न निर्णायक बनेको छ।

