७१औँ प्रहरी दिवसमा बाराका दुई सञ्चारकर्मी सम्मानित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, ३० असोज। अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र सामाजिक जनचेतना अभिवृद्धिमा पत्रकारितामार्फत योगदान पुर्‍याएको कदर गर्दै जिल्ला प्रहरी कार्यालय बाराले दुई जना सञ्चारकर्मीलाई सम्मान गरेको छ।

नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ का अवसरमा शुक्रबार कलैयामा आयोजित कार्यक्रममा साझेदारी राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक श्यामबाबु प्रसाद यादव र उज्यालो न्युज डटकमका सञ्चालक धीरेन्द्र तिवारीलाई कदरपत्र प्रदान गरिएको हो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारी र जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले संयुक्त रूपमा यादवलाई कदरपत्र प्रदान गरेका थिए। अपराध रोकथाम तथा नियन्त्रण र समाजमा शान्ति सुरक्षा कायम गर्न पत्रकारिताको माध्यमबाट इमानदारीपूर्वक महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो।
बारामा रहेर सक्रिय पत्रकारिता गर्दै आएका यादवले समाचार सम्प्रेषणमार्फत प्रहरी र नागरिकबीच सूचना प्रवाह, अपराध नियन्त्रण तथा सामाजिक सचेतना अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएका छन्।
कार्यक्रममा प्रहरी उपरीक्षक कुँवरले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै आगामी दिनमा समन्वय र सहकार्य बढाउनुपर्नेमा जोड दिए।
प्रहरी र सञ्चारमाध्यमबीचको प्रभावकारी सहकार्यले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम तथा नागरिकमा जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

Leave a Comment