कांग्रेसको महाधिवेशनको मतगणना एक सातामै सम्पन्न, दशैंपछि शपथग्रहण

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ३० । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ।

असोज २३ गते रातिदेखि सुरु भएको मतगणना शुक्रबार बिहान सकिएको हो। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दशैंपछि गर्ने तयारी गरिएको छ।
मधेश र बागमती प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूको मतगणना सकिएसँगै सबै पदको गणना पूरा भएको निर्वाचन समितिले जनाएको छ। मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि अन्तिम नतिजा सार्वजनिक गरिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
यसपटक अघिल्लो महाधिवेशनको तुलनामा मतगणना उल्लेख्य रूपमा छिटो सम्पन्न भएको छ। १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो भने १५औँ महाधिवेशनमा सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको हो।

निर्वाचन समितिले दिनरात गरी झन्डै २५ समूह परिचालन गरेर मतगणना गरेको थियो। समितिका अनुसार यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गरिएको छ।
कुल २२९ पदका लागि भएको निर्वाचनमा ७७ प्रकारका पद रहेका थिए। प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था गरिएको थियो। निर्वाचन तथा मतगणनाका क्रममा कुनै विवाद नभएको र प्रक्रिया सौहार्दपूर्ण रूपमा सम्पन्न भएको समितिको भनाइ छ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण गराएपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी छ। उक्त बैठकमा आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक रणनीति तथा तयारीबारे छलफल गर्ने नेताहरूको योजना रहेको छ।

Leave a Comment