प्रधानमन्त्री शाहको घोषणा : प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने, बर्दीलाई भरोसाको प्रतीक बनाउन गृहमन्त्रीको जोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ३० । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने तयारी भइरहेको बताएका छन् ।

७१औँ प्रहरी दिवसका अवसरमा उनले प्रहरीको क्षमता अभिवृद्धि र आधुनिक प्रविधिको प्रयोगलाई सरकारले प्राथमिकता दिएको बताएका छन् भने गृहमन्त्री सुधन गुरुङले प्रहरीको बर्दीलाई डर नभई आशा, भरोसा र सुरक्षाको प्रतीक बनाउन निर्देशन दिएका छन् ।
प्रधानमन्त्री शाहले शुक्रबार जारी गरेको शुभकामना सन्देशमा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन, आधुनिक प्रविधि, तालिम तथा पूर्वाधारका क्षेत्रमा थप सक्षम बनाउने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने, साइबर तथा वित्तीय अपराध नियन्त्रण गर्ने र कृत्रिम बौद्धिकतासहित आधुनिक सुरक्षा प्रणालीको प्रयोग बढाउने विषयलाई सरकारको प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् ।
आन्तरिक शान्ति र सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री शाहले सङ्कटका बेला धैर्य, सही निर्णय र कुशल कार्यसम्पादनमार्फत जनताको विश्वास कायम राख्न प्रहरी कर्मचारीलाई आग्रह गरेका छन् ।

यस्तै, गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीलाई नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात् गर्दै काम गर्न निर्देशन दिएका छन् । उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउनुपर्ने बताए ।
‘प्रहरीको बर्दी डरको होइन, आशा, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ,’ गृहमन्त्री गुरुङले भने, ‘सही कार्य गर्ने प्रहरीको साथमा सरकार सधैँ रहनेछ, तर गलत कार्यको संरक्षण गरिनेछैन ।’
उनले साइबर अपराध, वित्तीय अपराध तथा आधुनिक अनुसन्धान प्रविधिमा प्रहरीको क्षमता बढाउनुपर्नेमा जोड दिँदै नागरिकको विश्वास जित्न प्रहरीको काम गर्ने शैली र व्यवहारमा जवाफदेहिता आवश्यक रहेको बताए ।
७१औँ प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री र गृहमन्त्रीले दिएका सन्देशले प्रहरी सङ्गठनको आधुनिकीकरणसँगै नागरिकमैत्री सेवा, पारदर्शिता र उत्तरदायित्वलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारेको छ ।

Leave a Comment