कांग्रेस सभापतिको जिम्मेवारी सम्हाल्दै गगन थापा, पार्टी रूपान्तरण गर्ने प्रतिबद्धता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज ३१। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको शपथ लिएसँगै शनिबारदेखि औपचारिक रूपमा पार्टी नेतृत्वको जिम्मेवारी सम्हालेका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा केन्द्रीय निर्वाचन आयोगका संयोजक प्रेमबहादुर खड्काले थापालाई पद तथा गोपनीयताको शपथ गराएका थिए। शपथ ग्रहणपछि थापाले पार्टीको सभापतिको हैसियतमा पदभार ग्रहण गरेका हुन्।
असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए। उनले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै पार्टीको सर्वोच्च नेतृत्व हासिल गरेका हुन्।

थापाको नेतृत्वमा कांग्रेसले नयाँ पुस्ताको सहभागिता, संगठनात्मक सुधार र नीतिगत परिवर्तनलाई प्राथमिकता दिने अपेक्षा गरिएको छ। उनको निर्वाचनलाई पार्टीभित्र पुस्तान्तरण र नेतृत्व परिवर्तनको महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
पदभार ग्रहणपछि सभापति थापाले पार्टीलाई नयाँ ऊर्जा, गतिशीलता र प्रभावकारी नीतिका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अब उनको नेतृत्वमा कांग्रेसले संगठन सुदृढीकरण, कार्यकर्ताको मनोबल वृद्धि र बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीलाई अघि बढाउने चुनौती सामना गर्नुपर्नेछ।

Leave a Comment