गण्डकी प्रदेशमा कर्मचारीलाई राहत: तलब वृद्धि र करारकर्मीलाई स्थायीसरह महँगी भत्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

पोखरा, १ असार — गण्डकी प्रदेश सरकारले प्रदेश मातहत कार्यरत कर्मचारीको तलब तथा भत्तामा वृद्धि गर्ने घोषणा गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जितबहादुर शेरचन ले संघीय सरकारले गरेको तलब–भत्ता वृद्धिअनुसार प्रदेशका कर्मचारीलाई पनि समान सुविधा उपलब्ध गराइने जानकारी दिएका हुन्।
बजेट वक्तव्यअनुसार प्रदेश सरकारका स्थायी कर्मचारीले बढेको तलब र भत्ताको सुविधा पाउनेछन्। साथै, करार सेवामा कार्यरत कर्मचारीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले आगामी साउन १ गतेदेखि स्थायी कर्मचारीसरह महँगी भत्ता उपलब्ध गराइने व्यवस्था गरिएको छ।
प्रदेश सरकारले करारकर्मीलाई समेत समान महँगी भत्ता दिने निर्णयले कर्मचारीबीचको सेवा–सुविधाको अन्तर घट्ने अपेक्षा गरिएको छ। यस कदमले करार सेवामा रहेका कर्मचारीको कार्यक्षमता र उत्प्रेरणामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
यसअघि सोमबार नै मधेस प्रदेश सरकारले पनि बजेटमार्फत प्रदेशका कर्मचारीको तलब १० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो। गण्डकीको निर्णयसँगै प्रदेश सरकारहरू कर्मचारीको सेवा–सुविधा विस्तारतर्फ अग्रसर देखिएका छन्।

Leave a Comment