साइबर ब्युरो लगिएका जनआस्थाका सम्पादक किशोर श्रेष्ठ बेलुका घर फर्किए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, असोज ३१। जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठ शनिबार बिहान नेपाल प्रहरीको साइबर ब्युरो लगिए पनि बेलुका घर फर्किएका छन्।

उनले सामाजिक सञ्जालमार्फत आफू घर फर्किएको जानकारी दिँदै प्रेस स्वतन्त्रताको पक्षमा पत्रकारिता क्षेत्र एकजुट भएको बताएका छन्।
श्रेष्ठले सञ्चार माध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझेमा त्यसबारे उजुरी गर्ने उपयुक्त निकाय प्रेस काउन्सिल नेपाल भएको उल्लेख गरेका छन्। सञ्चार माध्यमविरुद्धका विषयमा साइबर ब्युरोले छिनोफानो गर्ने नभई प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढाइनुपर्ने उनको भनाइ छ।
उनका अनुसार यसअघि पनि आफू पक्राउ परेको घटनामा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइनेसम्बन्धी परमादेश जारी गरेको थियो। उनले पछिल्लो घटनामा पनि प्रेस स्वतन्त्रताको मान्यता स्थापित भएको दाबी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा हास्य कलाकार हिमेश पन्तले आफ्नो चरित्र हत्या हुने गरी समाचार प्रकाशित गरेको आरोप लगाउँदै श्रेष्ठविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए।
पन्तले जनआस्थामा प्रकाशित जग्गासम्बन्धी समाचारमा आफू र आफ्नो परिवारसँग सम्बन्धित भनी प्रस्तुत गरिएका कागजात आफ्नो नभएको जिकिर गरेका छन्। साइबर ब्युराबाट फर्किएपछि उनले सामाजिक सञ्जालमार्फत सम्बन्धित कागजात जाँच गर्ने र गलत प्रमाणित भए हटाउने तथा सच्याउने विषयमा श्रेष्ठ सहमत भएको बताएका छन्।
घटनापछि समाचारको सत्यता, सञ्चार माध्यमको जिम्मेवारी र प्रेस स्वतन्त्रतासम्बन्धी बहस फेरि सतहमा आएको छ। प्रकाशित सामग्रीमा चित्त नबुझेको अवस्थामा सम्बन्धित पक्षले कानुनी तथा नियामक निकायमार्फत समाधान खोज्ने विषयले पनि चर्चा पाएको छ।

Leave a Comment