मधेश प्रदेश प्रहरी प्रमुख अधिकारीद्वारा बारा प्रहरी कार्यालयको निरीक्षण, सेवा सुधारमा जोड

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

बारा, असार १६ गते । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओम प्रसाद अधिकारी ले जिल्ला प्रहरी कार्यालय बारा, कलैयाको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।
निरीक्षणका क्रममा डीआईजी अधिकारीले कार्यालयका विभिन्न शाखा तथा इकाइहरूको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले नागरिक सहायता कक्ष, कन्ट्रोल रुम, दर्ता–चलानी कक्ष, अपराध नियन्त्रण तथा अनुसन्धान शाखा, उजुरी छानबिन शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलगायतका शाखाहरूको अनुगमन गर्नुभयो।
त्यस्तै कर्मचारी प्रशासन, सूचना संकलन तथा विश्लेषण, अनुसन्धान योजना, प्रबन्ध, आर्थिक प्रशासन, सामुदायिक प्रहरी, सञ्चार शाखा, कार्यालय परिसर, व्यारेक, मेस, क्यान्टिन तथा हिरासत व्यवस्थापन कक्षको समेत निरीक्षण गर्नुभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
निरीक्षणपछि आयोजित निर्देशनात्मक कार्यक्रममा डीआईजी अधिकारीले जिल्लाको शान्ति–सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो। उहाँले बदलिँदो परिस्थितिअनुसार प्रहरी सेवा छिटो, छरितो, निष्पक्ष र नागरिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो।
उहाँले प्रहरी कर्मचारीको आचरण, अनुशासन, व्यवहार र व्यावसायिक क्षमता सुधार गर्दै संगठनप्रतिको जनविश्वास अझ बलियो बनाउनुपर्ने बताउनुभयो।
कार्यक्रममा सीमा क्षेत्रमा हुने भन्सार चोरी निकासी, तस्करी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा कडाइ गर्न, अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउन तथा सेवाग्राहीप्रति जिम्मेवार, पारदर्शी र उत्तरदायी भएर काम गर्न निर्देशन दिइएको थियो।
डीआईजी अधिकारीले कानुनको प्रभावकारी कार्यान्वयन, इमान्दारिता र सेवाभावलाई प्राथमिकतामा राख्दै उच्च मनोबलका साथ जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई आग्रह गर्नुभयो।

Leave a Comment