दसैँमा प्रहरीको निःशुल्क बस सेवा, उपत्यकाका तीन रुटमा सञ्चालन

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, कात्तिक ३-दसैँको अवसरमा यात्रुको आवागमन सहज बनाउन नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा दुई दिनका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

सार्वजनिक यातायातमा यात्रुको चाप र सवारीसाधनको अभावलाई ध्यानमा राख्दै प्रहरीले कात्तिक ३ र ४ गते तीनवटा रुटमा बस चलाएको हो।
प्रहरीका अनुसार निःशुल्क बस सेवा उपत्यकाका विभिन्न प्रमुख चोक, बजार तथा आवासीय क्षेत्रलाई समेट्ने गरी सञ्चालन गरिएको छ। यसबाट दसैँका बेला आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।
तीन रुटमा बस सञ्चालन
पहिलो रुट नक्सालबाट सुरु भएर बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जय नेपाल हल हुँदै पुनः नक्साल पुग्नेछ।
दोस्रो रुट नक्सालबाट सुरु भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी र सूर्यविनायक चोकसम्म पुग्नेछ। त्यसपछि कोटेश्वर, विमानस्थल, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ अस्पताल र बालुवाटार हुँदै बस पुनः नक्साल फर्किनेछ।
तेस्रो रुट नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायणगोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, विमानस्थल, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क र महाराजगन्ज हुँदै पुनः नक्साल पुग्ने गरी निर्धारण गरिएको छ।
यस्तो छ बस सञ्चालनको समय
कात्तिक ३ गते तीनवटै रुटमा पहिलो सिफ्टका बस दिउँसो ४ बजेबाट सञ्चालन गरिएको छ। कात्तिक ४ गते भने पहिलो सिफ्ट बिहान ८ बजे र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेबाट बस सञ्चालन हुने व्यवस्था मिलाइएको छ।
दसैँका बेला सार्वजनिक सवारीसाधन कम चल्ने अवस्थालाई ध्यानमा राखेर सञ्चालन गरिएको यो सेवाले उपत्यकाभित्र यात्रा गर्ने सर्वसाधारणलाई राहत पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Comment