काठमाडौं, असोज ७-मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने जनाएको छ।
महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमानअनुसार कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
बुधबार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बुधबार राति कोसी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका साथै वाग्मतीको पहाडी र तराई भू–भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
बिहीबार दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सोही समयमा कोसी र वाग्मती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
बिहीबार राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
शुक्रबार दिउँसो पनि कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
शुक्रबार राति पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई मौसमको अवस्था हेरेर आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

