एनपीएल खेल्न बंगलादेशका दुई क्रिकेटर नेपाल आइपुगे, कर्णाली याक्सको टोली बलियो बन्दै

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, कात्तिक ६-नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न कर्णाली याक्समा अनुबन्धित बंगलादेशका क्रिकेटर अरिफुल इस्लाम र अकबर अली नेपाल आइपुगेका छन्।

प्रतियोगिता नजिकिँदै गर्दा विदेशी खेलाडीको आगमनसँगै कर्णाली याक्सले आफ्नो टोलीलाई थप मजबुत बनाउने तयारी गरेको छ।
क्लबका अनुसार नेपाल आइपुगेका दुवै खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए।
बंगलादेशको यू–१९ राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका अरिफुल पछिल्लो समय उत्कृष्ट प्रदर्शनका कारण चर्चामा छन्। उनले अस्ट्रेलियामा आयोजित टप इन्ड टी–२० सिरिजमा सात खेल खेल्दै २१९ रन बनाएका थिए।

प्रतियोगितामा दुई अर्धशतक प्रहार गरेका उनी सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा तेस्रो स्थानमा रहेका थिए। उनले यसअघि बंगलादेश प्रिमियर लिगमा सिल्हेट स्ट्राइकर्सबाट पनि खेलिसकेका छन्।
त्यस्तै, अर्का खेलाडी अकबर अली बंगलादेशको क्रिकेट इतिहासमा महत्वपूर्ण उपलब्धि हासिल गरेको टोलीका सदस्य हुन्। २४ वर्षीय अकबर सन् २०२० मा बंगलादेशले पहिलोपटक आईसीसी यू–१९ विश्वकपको उपाधि जित्दा टोलीको कप्तान थिए। दक्षिण अफ्रिकामा भएको फाइनलमा बंगलादेशले भारतलाई तीन विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
कर्णाली याक्सले यस सिजन बंगलादेशका दुई खेलाडीसहित चार विदेशी खेलाडीलाई टोलीमा समेटिसकेको छ। टोलीमा स्कटल्यान्डका मार्क वाट र पाकिस्तानका अलराउन्डर हुसैन तलात पनि अनुबन्ध भएका छन्।
नेपाली खेलाडीमध्ये राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी कर्णाली याक्सका मार्की खेलाडी हुन्। राष्ट्रिय टोलीबाट खेलिरहेका अलराउन्डर गुल्शन झा र बलर नन्दन यादव पनि टोलीमा छन्।
यसका अतिरिक्त विपिन शर्मा, युनिस विक्रम सिंह, दीपेन्द्र रावत, पवन सरार्फ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, सचिन शर्मा र शिवम तिवारीलाई पनि कर्णाली याक्सले अनुबन्ध गरेको छ।
कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएलमा कर्णाली याक्सले स्वदेशी तथा विदेशी खेलाडीको संयोजनमा प्रतिस्पर्धा गर्नेछ। विदेशी खेलाडीको अनुभव र नेपाली खेलाडीको प्रदर्शनले प्रतियोगितामा टोलीको नतिजा कस्तो बनाउनेछ भन्ने चासो बढेको छ।

Leave a Comment