वासिङ्टन, १९ कात्तिक। अमेरिका र चीनबीच बढ्दो सैन्य तनाव कम गर्ने तथा सम्भावित द्वन्द्व रोक्ने उद्देश्यले दुवै देशका रक्षा अधिकारीहरूले संकटका बेला तत्काल सञ्चार कायम गर्ने संयन्त्रलाई सुदृढ बनाउने सहमति गरेका छन्।
वासिङ्टनमा सम्पन्न पहिलो औपचारिक बैठकले सैन्य मुठभेडको जोखिम घटाउन थप सञ्चार माध्यम प्रयोग गर्ने सहमति जुटाएको हो।
नोभेम्बर २ र ३ मा सम्पन्न ‘क्राइसिस कम्युनिकेसन्स एन्ड प्रिभेन्सन वर्किङ ग्रुप’ को बैठकमा दुवै पक्षले आकस्मिक सैन्य संकट व्यवस्थापन र आपसी संवादलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेका थिए।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार बैठकमा संकटका बेला छिटो र प्रभावकारी रूपमा सम्पर्क स्थापित गर्न अतिरिक्त सञ्चार च्यानल प्रयोग गर्ने सहमति भएको छ।
बैठकमा अमेरिकाको प्रतिनिधित्व रक्षा नीतिसम्बन्धी उपमन्त्रीको कार्यालयअन्तर्गत चीन, ताइवान र मङ्गोलिया मामिलाकी प्रमुख निर्देशक सिन्थिया ‘स्यान्थी’ कारासले गरेकी थिइन्। चीनका तर्फबाट जनमुक्ति सेनाको अन्तर्राष्ट्रिय सैन्य सहकार्य कार्यालयअन्तर्गत अमेरिका तथा ओशिनिया मामिला विभागका उपनिर्देशक सिनियर कर्नेल वाङ वेई सहभागी भएका थिए।
बैठकपछि दुवै देशले आगामी महिनाहरूमा पनि रणनीतिक रक्षा तथा सैन्य सुरक्षासम्बन्धी विषयमा छलफललाई निरन्तरता दिने सहमति जनाएका छन्।
ट्रम्प–सी भेटवार्ताको सहमति कार्यान्वयन
वासिङ्टनमा भएको यो बैठक गत सेप्टेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको शिखर वार्ताको निरन्तरता मानिएको छ।
उक्त भेटवार्ताका क्रममा राष्ट्रपति सीले दुई देशबीचको रणनीतिक प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुन नदिनुपर्ने र दुवै देशका सेनाबीच संकट व्यवस्थापन गर्ने संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिएका थिए।
त्यसपछि सेप्टेम्बर २६ मा चीनको परराष्ट्र मन्त्रालयले अमेरिका र चीनबीच संकट सञ्चार तथा रोकथामसम्बन्धी समझदारीलाई तीव्रता दिने घोषणा गरेको थियो। अहिले सम्पन्न बैठक उक्त सहमतिलाई व्यवहारमा कार्यान्वयन गर्ने पहिलो औपचारिक कदम बनेको छ।
ताइवानलाई लिएर सैन्य मुठभेडको जोखिम
अमेरिका र चीनबीच सैन्य सञ्चार संयन्त्र सुदृढ बनाउनुको प्रमुख उद्देश्य ताइवान जलमार्गमा हुन सक्ने सम्भावित सैन्य मुठभेड रोक्नु हो।
अगस्ट २०२२ मा तत्कालीन अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको उच्चस्तरीय सैन्य सञ्चार सम्पर्क बन्द गरेको थियो। त्यसले दुई देशबीच सैन्य तनाव थप बढाएको थियो।
नोभेम्बर २०२३ मा सान फ्रान्सिस्कोमा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भएको भेटपछि सैन्य सञ्चार सम्पर्क पुनः सञ्चालन गर्ने सहमति भएको थियो। तर त्यसपछिको संवाद सीमित रहँदै आएको थियो।
ट्रम्पको दोस्रो कार्यकालमा भने दुई देशबीच सैन्य सम्पर्कलाई थप सक्रिय बनाउने प्रयास हुँदै आएको छ। अक्टोबर २०२५ मा अमेरिकी रक्षामन्त्री पिटर हेगसेथले मलेसियामा आयोजित आसियान रक्षा मन्त्रीहरूको बैठकका क्रममा चिनियाँ रक्षामन्त्री दोङ जुनसँग भेटवार्ता गरेका थिए।
त्यस्तै, अगस्ट २०२६ मा ताइवान क्षेत्रको जिम्मेवारी सम्हाल्ने चिनियाँ इस्टर्न थिएटर कमान्डका प्रमुख जनरल याङ जिबिन र अमेरिकी प्यासिफिक कमान्डका प्रमुख एडमिरल स्यामुएल पापारोबीच क्यानडामा प्रत्यक्ष भेटवार्ता भएको थियो।
अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरूले अमेरिका र चीनबीच ताइवानलाई लिएर बढिरहेको सैन्य प्रतिस्पर्धाका कारण आकस्मिक मुठभेडको जोखिम कायम रहेको बताउँदै आएका छन्। यस्तो अवस्थामा वासिङ्टनमा भएको पछिल्लो बैठकलाई दुई महाशक्तिबीच सैन्य सञ्चार र संकट व्यवस्थापन सुधार गर्ने महत्त्वपूर्ण कूटनीतिक तथा सुरक्षा पहलका रूपमा हेरिएको छ।

